नेपालको बीमा क्षेत्रमा अझै पनि आमनागरिकको पहुँच र आकर्षण न्यून छ । साथै बीमा कम्पनीहरूमाथि अनेक प्रश्नहरू पनि छन् । बीमा कम्पनीहरूको दाबी भुक्तानीलाई लिएर कम्पनीहरूप्रति जनगुनासो उत्तिकै छ । यसैबिच बीमा समितिले कम्पनीहरूलाई एक वर्षभित्र चुक्ता पुँजी बढाउन निर्देशन दिएको छ । पछिल्लो समय बीमा क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण समितिले पुँजी बढाउन निर्देशन दिएको हो । यसैक्रममा नेपालको बीमा क्षेत्रको अवस्था, चुनौतीका र बीमा समितिका योजनाका विषयमा बीमा नियमनकारी निकाय बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसँग टिभी अन्नपूर्णकर्मी शर्मिला सुवेदीले गरेको कुराकानीको सम्पादित अंश :
भर्खरै आर्थिक वर्ष २०७९/८०को बजेट प्रस्तुत भएको छ , यसले नेपालको बिमा क्षेत्रलाई कसरी सम्बोधन गर्यो ?
विगतका बजेटभन्दा अहिलेको बजेटले बीमालाई धेरै समेटेको छ । बीमाको एकदमै फराकिलो दायरा बनाइदिएको जस्तो लाग्छ मलाई । मेरो २१–२२ बर्षको अनुभवमा अहिलेको बजेटले बीमाका धेरै कुराहरूलाई समेटेर आएको छ । बीमाको अहिलेसम्म राष्ट्रिय नीति थिएन नीतिका कुराहरू त्यहाँ परेका छन् । नीति बनाउने भन्ने कुराहरू आएका छन् । एक घर एक बीमा भन्ने नाराका साथ कार्यक्रम आएको छ । बीमालाई तल्लो स्तर अर्थात् विपन्न नागरिकमा पुर्याउन माइक्रो इन्स्योरेन्स कम्पनीको कुरा आएको छ । महाविपत्तिका कुरा समेटिएका छन् भने कृषि बीमाले निरन्तरता पाएको छ । समग्रमा अहिलेको बजेटले बीमालाई धेरै समेटेर ल्याएको छ ।
अहिले ठ्याक्कै नेपालमा बीमा क्षेत्रको अवस्था कस्तो छ ?
हाम्रो बीमाको करिब ७० बर्षको इतिहास छ । ७० बर्षको इतिहासमा यो ५–७ वर्ष अगाडीको कुरा हेर्दा हामी अलिकति साँघुरो दायरामा थियौँ । अहिलेसम्म पनि हामीसँग बीमा ऐन २०४९ नै लागु छ । हाम्रो अहिलेको ऐन अर्थ समितिमा गएर होल्ड भएको छ । अब चाडै नै यसको प्रक्रिया हुन्छ भन्ने हामी अपेक्षा गरेका छौँ । बीमाको दायरा साँघुरो थियो र वास्तवमा मान्छेले बीमालाई बुझेको थिएन । तर यो ५–७ वर्ष पछि बीमाको दायरा फराकिलो हुँदै गएको छ । मान्छेले अहिले बीमाको महत्त्व बुझेका छन् । बिशेषगरी बीमा गरिसकेपछि बीमाका दाबीका कुराहरू आउँछन् । बीमा भनेको विश्वास हो । यसले बस्तु होइन विश्वास बेच्छ र अहिलेको अवस्था हेर्दा सन्तोषजनक छ । हामीले यसलाई एकदमै उत्कृष्ट भन्दैनौ ।
अहिले नेपालमा बीमा कम्पनीहरूको आर्थिक अवस्था कस्तो छ ?
बीमा कम्पनीहरूको आर्थिक अवस्था हेर्दा पहिले पहिले बीमा कम्पनीहरू सानो पुँजीमा थिए । ३ करोडमा स्थापना भएका कम्पनीहरू हामीले हिसाब गर्दा निर्जीवन तर्फ एक अर्ब चुक्ता पुँजी , जीवन बीमा तर्फ दुई अर्ब चुक्ता पुँजी बनाएका थियौ । हालसालै हामीले पुँजी पनि बढाइदिएका छौं । जस्तो निर्जीवन तर्फ साढे २ अर्ब र जीवन बीमा तर्फ पाँच अर्बको पुँजी बनाएका छन् । पुँजी बलियो र धेरै भयो भने बीमा कम्पनीहरूले धेरै काम गर्न सक्छन् । सबै कामहरू अगाडी बढाउन सक्छन् । बीमामा अर्को पुर्नबीमाको पनि कुरा आउँछ । पुर्नबीमाको पनि पैसा त आउँछ तर पनि आफ्नो पुँजी भयो भने उनीहरू सक्षम र सबल हुन सक्छन् भने दक्षता बढ्न सक्छ । हरेक कुरामा प्रतिस्पर्धी हुन सक्छन् । त्यसैले पुँजीको अवस्था हेर्दा क्रमशः बढेको छ । सबै कम्पनीहरूको मुनाफा देखिन्छ । तर बिशेषगरी अस्वस्थ प्रतिस्पर्धा पनि छ । यसलाई सुशासनमा ल्याउनलाई हामीले धेरै बल पनि गरिसकेका छौँ । उधारो बीमा, क्यासब्याक लगायतका कुरालाई हामीले रोकेका छौँ ।
अहिले बिमा क्षेत्रमा चर्चामा रहेको विषय हो बीमा कम्पनीहरूको पूजीँबृद्धी, यो बारे केही बताइदिनुस् न ? अब पूजीँबृद्धी तर्फ जानुपर्छ भन्ने कसरी आयो ?
हाम्रा बीमा कम्पनीहरू सानो पुँजीमा थिए । अहिलेको जमाना भनेको आइटीको जमाना छ । सबैको हातहातमा स्मार्टफोनहरू छ । त्यहाँबाट बीमालेखहरु बेच्न सक्नुपर्यो । त्यो निमार्ण गर्नलाई पनि पुँजी चाहियो । बीमा कम्पनीहरूलाई सबल, दक्ष बनाउन पुँजी चाहिने हुनाले हामीले भइरहेको पुँजी अलिकति पर्याप्त भएन र पुजीँबृद्धीको कुरा ल्याएका हौँ । बीमा कम्पनीले न्यूनतम पुँजी तोक्नुपर्ने हुन्छ । त्यो तोक्नेक्रममा हामीले सबै अध्ययन गरेर पुजीँबृद्धीको योजना अघि सारेका हौ । हामीले बजार, बीमा कम्पनीहरूको क्षमता, दक्षता लगायतका कुरा अध्ययन गरेका थियौँ । हामीले पाँच वर्ष पहिला निर्जीवन कम्पनीहरूको एक अर्ब र जीवन कम्पनीहरूको दुई अर्ब पुँजी बनाएका थियौँ त्यसैले अहिलेसम्म थेगेको थियो । अहिले हामीले निर्जीवन कम्पनीहरूको साढे दुई अर्ब र जीवन कम्पनीहरूको पाँच अर्ब पुँजी बनाएका छौँ । यसले पनि बीमा कम्पनीहरूको लागि राम्रो हुनेछ ।
त्यसबाहेक बिमा कम्पनीहरूको मर्जरको कुरा पनि चलिरहेको छ, कतिपयले त मर्जरको प्रक्रिया पनि अघि बढाइसकेका छन् । यसमा अहिले कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
यसमा हामीले अहिले एकदमै राम्रो प्रतिक्रिया पाएका छौँ । हामीले बीमा कम्पनीका अध्यक्ष र सिइओलाई बोलाएर कार्यक्रम पनि गरिसकेका छौँ । त्यो कार्यक्रमबाट हामीले उहाँहरूसँगबाट प्रतिक्रिया पनि लिएका थियौँ । उहाँहरूले राम्रो प्रतिक्रिया दिनुभयो । अहिले कुनै कुनै कम्पनीहरू मर्जरमा आइसकेका पनि छन् र अघि बढिसकेका छन् भने कुनै एमओयुको तयारीमा पनि छन् । धेरै कम्पनीहरू उत्साहित छन् । हाम्रो मुख्य लक्ष्य भनेको अलिकति कम्पनीको सङ्ख्या घटाउनु नै हो । अस्वस्थ प्रतिस्पर्धाले पनि एउटा कारण हो यसको । त्यसबाहेक कम्पनी सक्षम र सबल हुन पुँजी चाहिन्छ । दुई वटा कम्पनीलाई राख्दा पुँजी ठुलो हुन्छ र त्यसले गर्दा कम्पनी सबै कुरामा सक्षम हुन सक्छन् । त्यसैले अहिलेको अवस्थामा बीमा कम्पनीहरूको मर्जर नै बीमा समितिको मुख्य धेय हो ।
कम्पनीहरूको पूजीँको कुरा गर्दा अहिले जीवन र र्निजिवनमध्ये सबैभन्दा बढी समस्या केमा देख्नुहुन्छ ?
कम्पनीहरूको पूजीँमा खासै समस्या देखेका छैनौँ । बीमामा हामीले देखेको मुख्य समस्या भनेको दाबीमा हो । बीमा दाबी भुक्तानीमा समस्या छ । भूकम्पको बेला हाम्रा कम्पनीहरूले सबै भुक्तानी तिरे । तर बीमामा दाबी तिर्नेबेलमा सुस्तता, ढिलाइ छ भन्ने प्रतिक्रिया पाउँदै आएका छौँ । त्यसैले हामीले यो वर्षलाई दाबी भुक्तानी वर्ष पनि मनाउन गरेका छौँ । हामीलाई आउने सबै भन्दा धेरै गुनासो भनेको दाबी भुक्तानीमा नै हो ।
अझै पनि धेरै मानिस बीमाको पहुँचभन्दा बाहिर छन् । यसलाई बढाउन र सचेतना वृद्धिका लागि के–के गर्ने योजना छ ?
बीमाको पहुँच बढाउने कुरामा सरकारले बीमाको कुरा बुझ्नुपर्छ । त्यसैले अहिले हामीले स्थानीय सरकार र प्रदेश सरकारसँग अन्तरक्रिया कार्यक्रम गरिरहेका छौँ । अब यहाँ धेरै कुराहरू छन् विपत्ति नआउलान् भन्ने छैन, प्राकृतिक प्रकोपले नसताउला भन्ने छैन र ती प्रकोपबाट पीडित हुने सम्बन्धित स्थानका जनता हुन् । त्यसैले स्थानीय सरकारलाई हामीले बीमाका कुरा बुझाउन सक्यौँ भने उनीहरुले स्थानीयलाई बुझाउँछन् । विपन्न वर्गका मान्छेहरूलाई पनि त्यहीँ सरकारले केही प्रिमियम हाल्दियो भने बीमाले त क्षतिपूर्ति दिन्छ । सरकारले पनि सधैँ राहत दिन सक्दैन तर बीमाले त दीर्घकालीन राहत दिन्छ । त्यसैले स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई हामीले बुझाउने कोसिस गरिरहेका छौँ । हामी त्यहीँ जाने हो किन भने त्यहाँ प्रिमियम तिर्ने पैसा पनि छ र उनीहरुले अनुदान दिने पैसा पनि छ । त्यसकारणले हामीले उनीहरूको स्थानीय तहका जनतालाई बीमा गर्यौ भने उनीहरू ढुक्क हुन्छन् । जस्तो कर्णाली प्रदेशले सबै व्यक्तिहरूको दुर्घटना बीमा गरेको छ । भोलि दुर्घटनामा मृत्यु भयो भने बीमाले दिन्छ । त्यसले सरकारले पनि बीमामा केही गरेजस्तो हुने बीमाको दायरा पनि फराकिलो हुने । अहिलेको प्रचारप्रसारको क्रम हेर्दा हामीले स्थानीय निकायसँग जोडिएका छौँ । त्यसले गर्दा पनि बीमाको दायरा बढेको छ ।
बीमा कम्पनीहरू अलिकति सहर केन्द्रित भएका हुन ?
हो हामीलाई पनि सहर केन्द्रित भएको लाग्छ । शाखा उपशाखा खोल्नेबेलामा पनि अहिले गाउँलाई पनि नगर उन्मुख बनाएको छ नि त्यस्तो ठाउँमा जान चाहने तर गाउँमै गएर काम गर्न नचाहने देखिन्छ । हाम्रो अध्ययनले पनि त्यस्तो देखाउँछ । त्यसबाहेक एउटा कम्पनी गयो भने सबै कम्पनी त्यहीँ ठाउँमा पुग्ने खालको प्रतिस्पर्धाको भावना पनि देखिन्छ । बीमा कम्पनीहरू सहरन्मुख भएकै छन् । सहरमा जति सुविधा होला गाउँतिर उनीहरुले त्यति पाउँदैन । बीमा कम्पनीमा हेर्ने हो भने जीवन बीमा कम्पनीहरू धेरै ठाउँमा पुगेको देखिन्छ र निर्जीवन कम्पनीहरू भने नपुगेको देखिन्छ । त्यसको लागि बीमा कम्पनीहरूले अध्ययन गरेर ठाउँ अनुसार प्रडक्ट लिएर सबै ठाउँमा पुग्दा राम्रो हुन्छ ।
बीमाको सेवालाई लगानीलाई मात्र नभएर व्यवसायलाई पनि प्राथमिकताको आधारमा विभाजन गर्नुपर्ने आवश्यकता कतिको देख्नु भएको छ ?
पहिला बीमाको कुरालाई चाहिँ सरकारले बुझ्दिनु पर्यो । सरकारले बुझिदिएपछि जनताले बुझ्छन् । सरकारले नै यसलाई प्राथमिकता दिनुपर्यो । सरकारले नै यसलाई प्राथमिकता दियो भने सबैले बुझ्छन् ।
बीमा कम्पनीहरूले बीमाको पोलीसीबारे खुलेर बुझाउन नसक्दा आम नागरिकमा बिमाबारे आकर्षण भन्दा पनि विकर्षण बढ्दो छ साथै अविश्वास पनि पैदा हुँदै गएको छ । यसबारे के भन्नुहुन्छ ? कसरी यो समस्यालाई सम्बोधन गर्नुहुन्छ ?
हाम्रा बीमा कम्पनीहरूले इनोभेटिभ प्रोडक्टहरु त्यति ल्याउँदैनन् । हाम्रा पुराना बीमालेखलाई जसरी ल्याएको छ त्यसैलाई जोडजाड गरेर हाम्रा बीमा कम्पनीहरूले काम चलाएका छन् । यो अलिकति प्राविधिक पनि छ । सबै बीमालेख बीमांकीले बनाउनुपर्छ । अहिलेसम्म हाम्रो नेपालमा बीमांकी एवं त्यस्तो व्यक्ति हुँदा पनि हुनुहुन्न । हामी भारतसँगै भर पर्नुपर्छ । हाम्रा बीमा कम्पनीहरूले भारतमा भएका बीमांकीहरुलाई प्रयोग गरेर प्रडक्ट बनाउँछन् । प्रडक्ट बनाउने सिलसिलामा भौगोलिक, सामाजिक आर्थिक अवस्थालाई अध्ययन गरेर प्रडक्ट बनाउनु पर्छ । तर हामीसँग त्यस्तो भेटिइन प्रोडक्टहरु छैन । त्यसको लागि हामीले बीमा कम्पनीहरूलाई घच्घचाईँ रहेका छौ । आकर्षणको लागि बीमा कम्पनीले भेटिइन प्रोडक्टहरु ल्याउनुपर्छ ।
बीमा क्षेत्रमा अहिले के कस्ता चुनौतीहरू छन् ?
बीमामा धेरै चुनौतीहरू छन् । पहिलो कुरा हामीले बीमाकै महत्त्व बुझेकै छैन र बुझाउनुपर्ने चुनौती छ । बीमाले के दिन्छ, कसो गर्छ धेरै मान्छेहरूलाई बुझाउन बाँकी नै छ । हाम्रो भौगोलिक कठिनाइहरू एकातिर छदैँ छ । समस्या नभएका होइन समस्या छन् । तर पनि ती समस्याहरूलाई हामीले बिस्तारै समाधान गर्दै छौँ ।
फेसबुकबाट प्रतिक्रिया