उत्पादित वस्तु वडाले किन्छ, उत्पादन गर्नुस् भन्दा पनि उत्पादन छैन : वडाध्यक्ष कुइँकेल

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका विकट वडाअन्तर्गत वडा नम्बर ३  पनि पर्छ । ग्रामीण परिवेशमा रहेको यस वडामा ठुलठुला कलकारखाना छैनन् । वडाको मुख्य आयस्रोत नै कृषि हो । सहरी क्षेत्रको वडा भएर पनि भौतिक पूर्वाधारमा भर्खरै बामे सर्दै छ । पर्यटकीय स्थलको रूपमा परिचित तारेभीर यसै वडामा पर्छ । तर, पूर्वाधार निर्माणको अभावका कारण उचित प्रयोग हुन सकेको छैन । वडाको आर्थिक, सामाजिक तथा सांस्कृतिक, पर्यटकीयस्थललगायत विषयमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मुरारीप्रसाद कुइँकेलसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, उनै कुइँकेलसँग गरिएको कुराकानीको सम्पादित अंश उनकै शब्दमा ।

भूगोलका हिसाबले वडा नम्बर ३ विकट वडा हो । यहाँ भिरालो जमिन छ । यहाँ पूर्वाधार विकासका काम धेरै भएका छैनन् । रणनीतिक सडकको एउटा प्रोजेक्ट यही दोस्रो स्थानीय तहको निर्वाचनपछि सुरु भएको छ । जुन अन्तिम चरणमा पुगेको छ । यस बाटोले गोकर्णेश्वर ३ र बूढानीलकण्ड १३ लाई जोड्छ । 

म वडाध्यक्ष पदमा निर्वाचित हुँदा पनि बिजुलीका लाइन सबै ठाउँमा पुगेको थिएन । अघिल्लो कार्यकालमा जग्गा प्लटिङ हुने सिलसिलामा बत्ती पुगे पनि आवश्यक भोल्टेज नपुगेको अवस्था थियो । म निर्वाचित भएपछि कम्तीमा १० वटा ट्रान्सफर्मर राखिएको छ । 

यो वडामा पहाडी क्षेत्र र समथर भूमि छ । वडाको अधिकांश भूमि दक्षिण मोडा छ । हाम्रो वडामा गोकर्णेश्वर नगरको पर्यटकीय स्थल तारेभीर पर्छ । तारेभीरमा गइसकेपछि मानिसहरू तल झर्नै मान्दैनन् । एक किसिमले भन्ने हो भने त्यो स्थान मोहनी लगाउने खालको छ । जहाँबाट एयरपोर्ट, काठमाडौंका विभिन्न स्थान, सिन्धुपाल्चोक, नुवाकोटलगायतका स्थान देख्न सकिन्छ ।   पर्यटन प्रवर्द्धनका लागि विगत १० वर्षयता यस ठाउँमा हरेक वर्ष तारेभीर महोत्सव हुँदै आएको छ । यस वर्ष पनि तारेभीर महोत्सव मनाउँदै छौँ । 

वडा नम्बर ३ को आर्थिक क्रियाकलापबारे कुराकानी गर्दा यहाँ आम्दानीका  कुनै ठुला कलकारखाना छैनन् । स्थानीय यहीबाट उत्पादित धान चामल खाने गर्छन् । यहाँका मानिसले किन्ने भनेको जिरा र नुन र तेल हो ।  

खानेपानी साबिक ३, ४, ५ र ८ र ९ मा माथिल्लो मेलम्ची वा सुन्दरी जलको पानी जाँदैन । हिजो बस्ती पातलो थियो । पानीको स्रोत पनि पुग्थ्यो । अहिले हामीकहाँ बस्ती बाक्लिएको छ । जसका कारण भएका स्रोतले अपुग छन् । एक किसिमले भन्ने हो भने पानी व्यवस्थापनमा कठिनाइ छ । केही सहरीकरणका लागि रिजर्भ ट्याङ्की बनाइएको छ । त्यसैगरी खानेपानीसँग कुराकानीका छौँ । खानेपानीले पनि केही सहयोग गर्ने प्रतिबद्धता गरेको छ । खानेपानी व्यवस्थापनका लागि करिब ३ करोडको लगानीमा निर्माणाधीन छ । चाँडै सो आयोजना सुचारु हुन्छ । 

भौतिक संरचना तथा बाटोको कुरा गर्दा वडा नम्बर ३ छिर्ने बाटोको पुल जीर्ण अवस्थामा थियो । म वडाध्यक्ष पदमा निर्वाचित भएपछि नै त्यो पुल बन्यो । काम गर्ने सिलसिलामा कानुनी तथा व्यावहारिक पक्षले केही प्रभाव पार्छन् । वडा नम्बर ३ मा आवश्यक बाटो पुगिसकेको छैन । र, भएका बाटोको स्तरोन्नति गर्न बाँकी छ । समग्रमा भन्दा यस वडामा सामान्य हिँडडुल गर्न ट्र्याक मात्र खुलेको अवस्था छ । यद्यपि म निर्वाचित भएपछि आवश्यकताका आधारमा बाटो चौडा गर्ने र पिच गर्ने कामलाई तीव्रता दिएको छु । 

वडाध्यक्षको पद हरेक व्यक्तिसँग जोडिन्छ । राम्रो गर्दा होस् वा नराम्रो गर्दा होस् । काम गर्ने सिलसिलामा विचलन आउने गरी कुनै काम गरेको छैन । म नहुने कुरालाई हुन्छ  भनेर भुलाउँदिनँ । काम हुनसक्ने र नसक्ने कारणबारे म खुलाइदिन्छु । मेरो यो स्वभावले तत्काल केही असर परे पनि पछि गएर वडाध्यक्षले सही नै भनेको रहेछ भनेर बुझ्नुहुन्छ । 

हाम्रो वडामा ठूलो अस्पताल छैन । भूगोलका हिसाबले उपचार गर्न गाह्रो भयो भनेपछि हामी निर्वाचित भएर आएपछि वडामा ल्याब सञ्चालन ग¥यौँ । त्यसका अलावा एक जना एमबिबिएस डक्टरको पनि व्यवस्था गरेका छौँ । उहाँले हाम्रो वडालाई हरेक दिन करिब ३ घण्टा समय दिनुहुन्छ । स्वास्थ्य चौकीका लागि पाँच शय्याको भवन बनाउनका लागि प्लानिङ अघि बढेको छ । सम्भवतः यो भवन निर्माण मेरै कार्यकालमा निर्माण भइसक्छ । 

वडा नम्बर ३ मा २ वटा आधारभूत र २ वटा माध्यमिक विद्यालय छन् । यसमध्ये प्लस टु सम्म लैजाने प्रयास भइरहेको छ । तर, यहाँ जग्गा प्राप्तिमा समस्या छ । नेपाल सरकारले निर्धारण गरेको शिक्षकको दरबन्दीअनुसार मात्रै अघि बढ्ने हो भने धेरै विद्यालय बन्द भइसक्थे । शिक्षाको गुणस्तर वृद्धिमा वडाको पहलमा नगरपालिकाबाटै थप शिक्षक र तलबको व्यवस्था गरिएको छ । त्यस्तै, सा–साना विद्यार्थीहरूलाई विद्यालय आउन बानी पार्नका लागि पूर्वप्राथमिक विद्यालय पनि सञ्चालनमा ल्याएका छौँ । पूर्वप्राथमिक सञ्चालन हाल ४ वटै सामुदायिक विद्यालयमा भइरहेको छ । पूर्वप्राथमिक विद्यालय सञ्चालनका लागि नगरपालिकाले पूर्वाधार र शिक्षकको व्यवस्था गरेको छ ।

वडाले वार्षिक रूपमा वृद्ध वृद्धालाई सम्मान गर्छ । त्यस्तै, वृद्ध वृद्धा भत्ता प्राप्तिमा सहजता गरेका छौँ । वडाले बेलाबेलामा स्वरोजगारका लागि तालिम सञ्चालन गर्दै आइरहेको छ । त्यसमा पनि बढी मात्रामा महिला, एकल महिला, दलित लक्षित कार्यक्रम सञ्चालित छन् । तर, प्रशिक्षण लिएकाहरूमध्ये धेरैले तालिमलाई व्यवहारमा नउतार्दा दुःख लाग्छ । तालिम सिकेकाहरूले उत्पादन गरेको वस्तु वडाले लिन्छ भन्दा पनि अपेक्षित उपलब्धि हुन सकेको छैन । 

वडा नम्बर ३ का मानिसको मुख्य व्यवसाय भनेको कृषि हो । हाम्रो वडामा  २ वटा कृषि सहकारी सञ्चालनमा छन् । अनुदानको रूपमा वडा र नगरपालिकाले अनुदान, कृषि खाद्य वितरण गर्दै आइरहेको छ । यसै वर्ष पनि कृषि अनुदानको रूपमा ट्याक्टर वितरण गरिएको छ । नगरपालिकाले हरेक वर्ष धान, गहुँ र मकैको बिउँ ५० प्रतिशत अनुदानमा वितरण गर्दै हुँदै आएका छन् । कृषकलाई कृषि औजार वितरणका लागि बजेटको व्यवस्थापन गरेको छ । वडाले कृषकलाई कृषि तालिमको पनि व्यवस्था गरेको छ । पशुपालन, टनेल खेतीलगायत तालिम वडाले गराउँदै आएको छ । यस किसिमका तालिम चाहिँ प्रभावकारी बनेका छन् । यस्तै, औषधि छर्किने मेसिन पनि वितरण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार