बालेन शाहमा टिमवर्क छैन : वडाध्यक्ष डंगोल (भिडियोसहित)

काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १५ का वडाध्यक्ष इश्वरमाथ डङ्गोलले नेतृत्वमा लर्निंग, सेयरिङ र लिडिङ हुनुपर्ने बताएका छन् । टिभी अन्नपूर्णसँगको कुराकानीका क्रममा काठमाडौं महानगरका पछिल्ला विद्यासुन्दर शाक्य र बालेन्द्र शाहमा यी तीनवटै कुराको अभाव रहेको बताउँदै उनले यस्तो बताएका हुन् ।

फुटबल खेलको उदाहरण दिँदै एउटा व्यक्तिले कहिल्यै गोल गर्न नसक्ने बताउँदै उनले मेयर बालेन्द्र शाहमा टिमवर्कको भावना कम भएको बताएका छन् । मेयर बालेन शाहमा मात्रै नभएर यसअघिका मेयर विद्यासुन्दर शाक्यले पनि टिमवर्कको अभ्यास नगरेको आरोप लगाए । दुवै मेयरको कार्यकालमा कतिपय महानगरका कामकारबाही आफूहरूले सञ्चारमाध्यमबाट थाहा पाउने गरेको उनको भनाइ छ । टिमवर्ककै कारण माइतीघर निर्माण हुन सफल भएको बताउँदै उनले काठमाडौं महानगरका पछिल्ला दुई मेयर (शाक्य र शाह) भन्दा यसअघिका मेयर केशव स्थापितमा बढी टिमवर्क भएको उनले सुनाए । यस्तै, अहिले राजनीतिक दलप्रति नैराश्यता हुनुको कारक तत्त्व नेता र जनता दुवैमा स्वार्थीपन रहेको बताएका छन् । ‘अहिले नेता र जनता दुवै पक्ष चाँडोभन्दा चाँडो आफ्ना स्वार्थपूर्ति गरौँ भन्नेमा छन् । जसका कारण राजनीतिक दलप्रति नैराश्यता सिर्जना भएको छ ।’ नेताहरू सत्तामा नपुगुनजेलल जनतालाई आश्वासन देखाउने, तर सत्तामा पुगेपछि जनताका चाहना बिर्सिने गरेको उनले बताए ।

वडामा गीता उच्च मावि, ईश्वरी आधारभूत विद्यालय र जनसुधार माध्यमिक निम्नमाध्यमिक विद्यालय गरी ३ वटा सामुदायिक विद्यालय रहेको बताउँदै उनले विद्यालयको शिक्षाको गुणस्तरको वृद्धिका लागि नेपाल सरकारले दिएको भन्दा बढाएर खाजा भत्ताको व्यवस्था गरेको बताउँदै संस्थागत विद्यालय भन्दा सामुदायिक विद्यालय सक्षम रहेको बताए । गीतादेवी माध्यमिक विद्यालयमा लगभग २२०० भन्दा बढी विद्यार्थीले अध्ययन गर्ने गरेको बताउँदै उनले शिक्षाको गुणस्तरमा सामुदायिक विद्यालय निजी विद्यालयभन्दा कम नभएको बताए ।

नेकपा एमालेको तर्फबाट यसअघि २०५४ र २०७४ सालमा पनि वडाध्यक्षको जिम्मेवारी सम्हालेका डङ्गोलले कम्युनिस्ट एकता कायम हुनुपर्ने बताए । उनले आमनेपाली जनतामा कम्युनिस्ट एकताको चाहना रहेको बताए । उनले भने, ‘अझै पनि स्थानीय जनतामा कम्युनिस्ट एकता होस् । देश र जनताका लागि केही होस् भन्ने पक्षमा छन् । तर, घटना क्रमका कारण जनतामा राजनीतिक दलप्रतिको विश्वास टुट्दै गएको पनि हो ।’ २०५४ साल २०७४ र २०७९ गरी तीन पटक यसै क्षेत्रबाट वडाध्यक्ष पदमा उनी निर्वाचित भएका छन् ।

यसअघि नेकपा एमालेको झन्डा र सोको ब्रान्डबाट वडामा निर्वाचित भएका उनी २०७९ सालमा नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीबाट उनी वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । वडामा उनीमात्रै निर्वाचित भएका छ्रैनन् । उनको टिम नै एकलौटी रूपमा निर्वाचित भएका छन् । जनप्रतिनिधि निर्वाचनमा दलको केही भूमिका भए पनि निर्वाचनमा सबैभन्दा भूमिका सम्बन्धित व्यक्तिको हुने गरेको उनले बताए । ‘निर्वाचनमा राजनीतिक दलको भूमिका हुन्छ । तर, सँगसँगै सम्बन्धित व्यक्तिको पनि उत्तिकै भूमिका हुन्छ । २०५४ सालयता म निरन्तर रूपमा जनताको माझमा छु । स्थानीय तहमा नागरिकका सुख र दुःखमा सधैँ छु । जनप्रतिनिधि हुन आकाङ्क्षीहरूले जनतालाई भगवान् मान्नुपर्छ । निर्वाचित भएपछि पनि जनतालाई भगवान् मान्नुपर्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार