पर्यटकको बाटो छेकेर पैसा असुल्ने पाँच युवक पोखराबाट पक्राउ

पर्यटकलाई तानेर जबर्जस्ती होटलमा लगेको आरोपमा पोखराबाट प्रहरीले पाँचजना युवकलाई पक्राउ गरेको छ ।

सोमबार पोखरा महानगरपालिका-६ लेक साइड र हल्लन चोक क्षेत्रबाट उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्कीका एसपी वसन्त कुमार शर्माका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–६ डिहिकोपाटनका २६ वर्षीय सन्तोष श्रेष्ठ, लालुपाते मार्गका २५ वर्षीय मीनप्रसाद पौडेल, ३१ वर्षीय धनदेउ क्षेत्री, खहरे चोकका २५ वर्षीय सुशान्त क्षेत्री र २५ वर्षीय अमित भण्डारी छन् ।

उनीहरूले लेकसाईड र हल्लन चोक क्षेत्रमा नेपाली तथा विदेशी पर्यटकलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटेल मिलाइदिने भन्दै झोला तान्ने तथा पैसाको बार्गेनिङ गर्दै अनावश्यक हैरानी दिएर अभद्र व्यवहार गरेको आरोप छ ।

उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको एसपी शर्माले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार