सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो ।

आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय रूपैयाँ बढी हो । शुक्रबार भने सुनको मूल्य घटेको थियो। उक्त दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ घटेको हो । शुक्रबारको तुलनामा भने आज सुनको भाउ प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १० रूपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार