मनमैजु घटना : प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ

प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ । तारकेश्वर नगरपालिका—९, मनमैजुमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सचिन परियारसहित ६ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरु लागूऔषध सेवनकर्ता हुन् ।

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरे गत शुक्रबार एक निर्माणाधीन घरको भुइँमा उनी रक्ताम्मे अवस्थामा मृत भेटिएका थिए । उनलाई इँटा प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गत बिहीबार ड्युटी सकेर कार्यालयबाट निस्किएका प्रहरी जवान घिमिरे त्यसयता फर्किएका थिएनन्। शुक्रबार अपराह्न स्थानीयले खबर गरेपछि प्रहरी घिमिरेको शव भएको स्थानमा पुगेको थियो। उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको प्रहरीले जनाएको छ।

शव भेटिएलगत्तै प्रहरीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा लगेर जाँच थालिएको थियो । घटनास्थल मुचुल्का गरेर शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । पोष्टमार्टमको प्रतिवेदन आइसकेको छैन ।

प्रहरीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ घर भएका घिमिरे सामाखुसीमा डेरा गरी बसेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार