जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक बस्दै, आजै पत्रकार सम्मेलन

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक मंगलबार बिहान १० बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने तय गरिएको प्रचार—प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

दल विभाजनसम्बन्धी कानूनी रिक्तताको अवस्थामा नयाँ पार्टी दर्ता गरिएको भन्दै जसपा नेपालले अदालत जाने तयारी गरेको छ ।

मंगलबार उपलब्ध नेताहरूबीच अदालत जाने अनौपचारिक छलफल भएको बस्नेतले जानकारी दिए ।

‘आज बस्ने केन्द्रीय कार्यकारिणी र उपलब्ध केन्द्रीय नेताहरूको बैठकमा अदालत जाने विषयमा छलफल हुन्छ,’ उनले भने, ‘आजै बिहान साढे ११ बजे पत्रकार सम्मेलन पनि राखिएको छ ।’

अशोक राईको नेतृत्वमा सात जना सांसद अलग भई गठन भएको जनता समाजवादी पार्टी (जसपा) सोमबार निर्वाचन आयोगमा दर्ता भएको थियो । तर संसदको बर्खे अधिवेशन आह्वान भइसकेको, दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र बहुमत केन्द्रीय सदस्य संस्थापन पक्षमै रहेको जिकीर गर्दै जसपा नेपालले आयोगको निर्णय कानुन विपरीत रहेको तर्क गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार