अवस्था हेरेर महिनाको २० हजारसम्मको औषधि निःशुल्क उपलब्ध गराएका छौँ – नगरप्रमुख राजकुमार नकर्मी

सङ्घीयता कार्यान्वयनपछि दोस्रो स्थानीय तहको निर्वाचन भएको करिब डेढ वर्ष पुगेको छ । यो अवधिमा निर्वाचित जनप्रतिनिधिले दुईवटा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । त्यस्तै, हाल आव २०८०÷०८१ को बजेट कार्यान्वयनका क्रममा छन् । यसै फेरिफेरिमा रहेर कीर्तिपुर नगरको विकास निर्माण कार्य, धार्मिक तथा सांस्कृतिक, पर्यटन, स्वास्थ्य, शिक्षा र स्थानीय तहलाई बलियो बनाउन गर्नुपर्ने कार्य, र उपलब्धि, संघीय सरकारको भूमिकालगायत समग्र विषयलाई लिएर नगरप्रमुख राजकुमार नकर्मीसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, उनी नगरप्रमुख नकर्मीसँग टिभी अन्नपूर्णले गरेको कुराकानीको सम्पादित अंश ।

दोस्रो स्थानीय तहको निर्वाचन भएको करिब डेढ वर्ष भएको छ । यो अवधिमा नगरपालिकामा देखिने काम केके भए ?

यो अवधिमा शिक्षा र स्वास्थ्यलगायत केही पूर्वाधारमा लगानी गरेका छौँ । कीर्तिपुर अस्पतालमा उपचार गर्दा स्थानीयलाई ५० प्रतिशत छुटको व्यवस्था गरेका छौँ । शिक्षा क्षेत्रमा कीर्तिपुरका कलेजमा स्नातकसम्म निःशुल्क अर्थात् नगरपालिकाले व्यहोर्ने गरी अघि बढेका छौँ। कीर्तिपुर नगरपालिकाका क्षेत्रभित्रका बिरामीलाई एम्बुलेन्स र शववहानमा निःशुल्क उपलब्ध गराउने गरेका छौँ । यस्तै, पूर्वाधारमा विभिन्न ठाउँमा बाटो निर्माण र स्तरोन्नतिका काम भएका छन् । काठमाडौं जिल्ला भन्नेवित्तिकै सहरी क्षेत्र भनी चिनिन्छ । तर, कीर्तिपुर नगरपालिका सहरी ग्रामीण दुवै किसिमको परिवेश छ ।

विकासलाई कसरी व्यवस्थापन गर्नुभएको छ ? 

कीर्तिपुर डाँडा र घनाबस्ती भएका ठाउँहरू कीर्तिपुर पाँगा र चोभारका निश्चित क्षेत्रहरुमा अरू पूर्वाधार भन्दा पनि संस्कृति सम्पदालाई संरक्षण गर्नुपर्ने चुनौती छ । हामीले त्यहाँको धार्मिक तथा संस्कृति पक्षलाई सम्पबद्र्धन र प्रवर्द्धन गर्ने प्रयास गरेका छौँ । पाटी पौवा निर्माण तथा पुनर्निर्माण कार्यलाई जोड दिएका छौँ । सांस्कृतिक सम्पदालाई डिस्टर्ब हुने खालका संरचनालाई आवश्यकताका आधारमा व्यवस्थापन गरेका छौँ । 

त्यसै गरी कीर्तिपुरको दक्षिणको फाटमा पूर्वाधारका कार्य (बाटो, ढल) तीव्र रूपमा अघि बढेको छ । जहाँ विशेष गरी बसाइसराइ गरेर आएर रहनुभएको छ । उहाँहरूको प्राथमिकता मोटरेबल बाटो, खानेपानी, विद्युत्, पु-याइदिनु भन्ने हुन्छ । उहाँहरूको मागलाई पूरा गरेका छौँ । त्यस्तै घना बस्ती भएका ठाउँमा संस्कृति सम्पदा संरक्षणसम्बन्धी कार्य गर्नुपर्ने हुन्छ । यहाँका मन्दिरहरू भत्किरहेका छन् । तिनलाई हामी कर्मागत रूपमा पुनर्निर्माण गरिरहेका छौँ । 

कीर्तिपुर नगरपालिकाभित्रका सांस्कृतिक तथा धार्मिक पीठको विकासका लागि नगरपालिकाले के–के काम गरेको छ ?

कीर्तिपुर नगरपालिकाभित्र थुप्रै धार्मिक तथा सांस्कृतिक धरोहर छन् । बागेदह, उमा महेश्वर, चोभारको आदिनाथ मन्दिर, तौटदहलगायत छन् । अहिलेसम्म हामीले संरक्षणका मर्मतसंभार, गुठियारहरूलाई जिम्मेवारी बनाएर अघि बढेका छौँ । कीर्तिपुरमा डाफा खलह (असार साउनमा पाटीमा गीत गाउने चलन) छ । यो संस्कार बचाउनका लागि दाफा खलह गाएको महिनामा उनीहरूका खर्चको व्यवस्थापन गर्ने गरेका छौँ। 

धार्मिक तथा पर्यटकीय स्थलको पहिचानका लागि केही महिनाअघि पर्यटन बोर्ड र कीर्तिपुर नगरपालिकाको सहकार्यमा हेरिटेज वाकको सुरुवात भएको छ । यस्तै, करिब २ महिनाअघि यस खालको वाकको सुरुवात पनि भएको छ । 

स्थानीयले सामूहिकताका आधारमा गुठीमा आबद्धता हुन चाहेमा नगरपालिकाले कस्तो भूमिका निर्वाह गर्छ ? 

सर्वप्रथम हामी उहाँहरूलाई सूचीकृत गर्छौँ । त्यसपछि उहाँहरूलाई गुठीले पाएका सुविधा प्रयोगका लागि अवसर दिन्छौँ । मूल कुरा यस्ता समूह आएर आबद्ध हुन चाहेमा ऐतिहासिक पृष्ठभूमि पनि हेर्छौँ । र, सबै कुराले उपयुक्त भएमा हामी गुठीले पाउने सबै सुविधा दिन्छौँ । यसमा वडाबाट सिफारिस भई आएमा कुनै पनि समस्या हुँदैन । 

ऐतिहासिक रूपमा नगरपालिकाले ठीक ठह-याएमा उनीहरुले के कस्ता कानुनी प्रक्रिया अपनाउनुपर्छ ? 

धार्मिक तथा सांस्कृतिक विषयलाई कानुनले बाँधेको छैन । कानुन धेरै संस्कृतिमा लागू हुँदैन । यी सबै कुरा परम्परा र रीतिरिवाजअनुसार चल्ने कुरा हुन् । कानुन एक किसिमले चल्छ । संस्कृति पनि आफ्नै रुपले चल्छ । तर, संविधान र कानुन अधिनभन्दा बाहिर कानुन हुन्छ भन्ने चाहिँ होइन । 

कीर्तिपुर र कीर्तिपुरको विकासबारे थप केही बताइदिनु न

हामी सानो नगरपालिका । अपेक्षा पनि सानै छन् । ती अपेक्षा पूरा गर्न काम गरिरहेको छ । नगरपालिकाको कुरा गर्दा देशकै दोस्रो जेठो नगर हो । सानो भएपछि आम्दानीको स्रोत पनि सानै छ । जसका कारण विकास निर्माणका काममा पनि साँगुरिनुपर्ने अवस्था छ । 

कीर्तिपुरमा पानीको अवस्था कस्तो छ ? 

कीर्तिपुरमा खानेपानीको अवस्था अत्न्त दुःख छ । हिजो मेलम्ची आउँदा केही हदसम्म सहज भएको थियो । तर, यो वर्ष मेलम्चीको पानीको पानी आउने सम्भावना छैन । कीर्तिपुरको आफ्नो मुहान पनि छ । तर, बजेट अभावका कारण ती स्रोतको उपयोग गर्न सकेका छैनौँ । प्रयोग गर्न खोज्दा पनि स्थानीय पहिला भन्ने हुन्छ । केही रकम नै खोज्छन् । त्यसमा पनि पहिला हामी खाऔँ त्यसपछि तपाईहरुलाई दिउँला भन्छन् । 

यो डेढ वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा के कस्ता काम भएका छन् ?

हामीले मेयर स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेका छौँ । कार्यक्रमअन्तर्गत कीर्तिपुर अस्पतालमा रहेका डक्टरहरुलाई वडावडमा पठाउने गरेका छौँ । उनीहरुले चेकजाँच गर्छन् । । चेकजाँचपछि सिफारिस भएका बिरामीले अहिले स्वास्थ्य लाभ लिइरहेका छन् । त्यस्तै, हामीले प्रेसर र सुगरवालालाई फ्री औषधिको व्यवस्था गरेका छौँ । ६८ वर्षमाथिकालाई जतिनै लागे पनि नगरले व्यहोर्छ । 

यस्तै, कसैकसैलाई हामीले महिनाको २० हजारसम्मको औषधि फ्री उपलब्ध गराएका छौँ । तर, अर्थसँगै जोडिएकाले भनेजति हुन सकेको छैन । 

घुम्न चाहनेहरुका लागि कीर्तिपुरका पर्यटकीयस्थलहरु कुन–कुन हुन् ? 

कीर्तिपुरमा यस्ता घुम्नलायक धार्मिक तथा पर्यटकीयस्थल धेरै छन् । प्रकृतिक रूपमा टौदह, चम्पादेवीको वन क्षेत्र, बल्खु खोलामा बाँध बाँधेर पानी पनि जम्मा पनि गर्दै छौँ । यो पनि घुम्नलायक स्थलको रूपमा विकास हुँदैछ । यो बाँध हाइड्रो प्रोजेक्टसम्बन्धी अवलोकन गर्न चाहनेहरुका लागि उपयोगी हुन्छ । 

स्थानीय तहलाई स्वायत्त बनाउने संवैधानिक व्यवस्था छ । स्थानीय तहका लागि संघबाटै प्रशासकीय अधिकृत तोक्दा स्थानीय तहमा काम गर्न कतिको सहज हुन्छ ? 

कहीँ कतै प्रशासकीय अधिकृत संघबाट आउँदा अफ्ठ्यारो भएको होला । तर, मेरो हकमा त्यस्तो छैन । हुन त यो केही हदसम्म व्यक्तिमा पनि भर पर्ने हुनसक्छ । म अलि फेक्जिबल पनि छु ।

संघीयताका नाममा सबै स्थानीयलाई मात्रै जिम्मेवारी दिँदा अलि छाडा हुन सक्छ । स्थानीय जनप्रतिनिधि भोटका लागि उदार हुन्छन् । तर, कानुनी रूपमा प्रमुख प्रशासकीय अधिकृतले केही नियन्त्रण गर्दा व्यवहार सन्तुलनमा आउँछ । 

स्थानीय तहलाई प्रभावकारी बनाउन के गर्नुपर्ला ? 

स्थानीय तहलाई प्रभावकारी बनाउन सर्वप्रथम बजेटको व्यवस्था गर्नुपर्छ । अझै पनि स्थानीय तहमा बजेट कम छ । अधिकारको हकमा स्थानीय जनप्रतिनिधिले प्रयोग र व्यवहारमा ल्याउन सक्नुपर्छ । अधिकार धेरै नै दिएको छ । गलत प्रवृतिको हातमा परेमा खराब पनि हुन सक्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार