फेरिए तीन प्रदेश प्रमुख, कांग्रेस, माओवादी र जसपाबीच भागबन्डा

सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमको प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो । प्रदेश प्रमुखमा सत्तारूढ दलहरूले भागबन्डा गरेका छन् ।

प्रदेश १ मा जनता समाजवादी पार्टीका नेतासमेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुख भएका छन्। उनी पहिले बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्तिका नेता थिए ।

साथै कर्णालीमा पहिले प्रदेश २ का प्रदेश प्रमुख भइसकेका परियारलाई नै जिम्मेवारी दिइएको छ। उनी नेकपा माओवादी केन्द्रनिकट हुन् ।

यस्तै सुदूरपश्चिममा कांग्रेस नेता तथा पूर्वसभासद जोशी प्रदेश प्रमुख भएका छन् । उनी कांग्रेस बाजुराका पूर्वसभापति पनि हुन् । हालै उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि भएका थिए ।

हाल प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार