सुहाङ नेम्वाङले पाए समानुपातिकमा एमालेले पाएको भन्दा धेरै मत

इलाम–२ मा सुहाङ नेम्वाङले समानुपातिकमा एमालेले पाएको भन्दा धेरै मत पाएका छन् । उनी मंगलबार बिहान सकिएको मत गणनाअनुसार २७ हजार ७७२ मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत ल्याए । नजिकका प्रतिस्पर्धीभन्दा ५ हजार ८३० को मतान्तरले निर्वाचित भएका सुहाङले पार्टीले समानुपातिकमा प्राप्त गरेको मतलाई पनि उछिने ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेले त्यस क्षेत्रमा समानुपातिकतर्फ २६ हजार ५६२ मत ल्याएका थियो। अहिले सुहाङले १ हजार २१० मत बढी ल्याए।

यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि शनिबार (१५ वैशाख) उपनिर्वाचन भएको हो।

एमालेले यहाँबाट सुवासकै छोरा सुहाङलाई चुनावी मैदानमा पठाएको थियो। बुवाजस्तै स्वभाव मिल्ने सुहाङले बुवाले लगातार २५ वर्षसम्म जित्दै आएको क्षेत्रमा जित हासिल गर्दै संसद् भवनको ढोका खोलेका छन्।

सुहाङ पेसाले अधिवक्ता पनि हुन्। बुवाको निधनपछि उनलाई एमालेले राजनीतिक बाटोमा डोर्‍याएको छ। उनी एमालेका कानुन विभाग सदस्य पनि हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार