इलाम-२ मा मुढाले उछिन्यो कांग्रेसलाई

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना अहिले माई नगरपालिकामा आइपुग्दा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले नेपाली कांग्रेसका डम्बर खड्कालाई उछिनेका छन् ।

माई नगरपालिका- ६ को मतगणना सकिँदा थेगिमले ७ हजार ४५२ मतसहित नेकपा एमालेका सुहाङ नेम्बाङलाई पछ्याएका छन् ।

आइतबारदेखि जारी मतगणनाका क्रममा लगातार तेस्रो स्थानमा रहेका उनी सोमबार माङ्सेबुङका सबै ६ वडाको मतगणना सकिएर माई नगरतिर लागेपछि दोस्रो स्थानमा उक्लिएका हुन्।

उनलाई माई नगरपालिका-६ मा माङ्सेबुङ-५ मा जस्तै पहिलो भोट मिलेको हो । माईका ३ वटा वडामध्ये अहिले ६ नम्बर वडाको मतगणना सकिँदा थेगिमको पक्षमा ५५१ मत खसेको हो । थेगिमले पहिलो मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्बाङको पक्षमा माई ६ बाट ५४१ मत झरेको छ ।

उता समग्रमा तेस्रो स्थानमा झरेका कांग्रेसका डम्बर खड्काले ७ हजार ३२४ मत पाएका छन् । माईको मतगणना चलिरहँदा एमालेका सुहाङले ११ हजार ७८ मतसहित अग्रता बढाइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार