क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

काठमाडौं । स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो ।

संघका पदाधिकारीबिच लामिछानेलाई निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने विषयमा सहमति जुटेको हो ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन् ।

नवौँ विश्वकपका लागि टोली घोषणा गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मे १ तारिखसम्मको समय दिएको थियो । सोही अनुसार, नेपाल क्रिकेट संघ (क्यान) ले पनि १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार