रिसइबी साध्न बिस्कुट खान बोलाएर तीन वर्षीया बालिकाको हत्या, आमाछोरी पक्राउ

सिरहामा छिमेकको तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् ।

सिरहा नगरपालिका-१८ रमेश यादवकी छोरी रिया कुमारीको छिमेकीले घाँटी थिचेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

उनको हत्या गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका १८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सोनावतीका श्रीमान् ७२ वर्षीय धनिकलाल यादव भने फरार छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकै अवस्थाबाट रिया हराएकी थिइन् ।

खोजतलासको क्रममा गत वैशाख १४ गते राति साढे ११ बजे छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङ नजिकै बालिकाको शव फेला परेको थियो ।

मसुराको झ्याङ्टाभित्र कालो रंगको प्लाष्टिकको बोराभित्र बालिकाको शव फेला परेको डीएसपी सापकोटाले बताए ।

उनका अनुसार करिब एक वर्षदखि रमेश र धनिकलालको परिवारबीच झैझगडा हुँदै आएको थियो । सोही कुराको रिसइबी राखेर धनिकलालको परिवारले रियालाई मार्ने योजना बनाइरहेका थिए । त्यसै क्रममा गत वैशाख १२ गते घर अगाडि खेलिरहेकी बालिकालाई बिस्कुट दिई आफ्नो घरभित्र लगेर हत्या गरेको डीएसपी सापकोटाले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार