राजीनामा नदिएको भए उपेन्द्र यादवलाई गलहत्त्याएर निकालिन्थ्यो : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिलको गठबन्धन लम्वाउन पार्टीविभाजनसम्मको कसरत भएको बताएका छन् । मंगलबार ललितपुरमा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन लम्वाउन नै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित गराइएको दाबी गरेका हुन् ।

सबै पार्टीभित्र अन्तरविरोध गरेर गठबन्धनमा आफ्नो शक्ति स्थापीत गर्न खोज्ने प्रयास भएको उनले बताए ।‘हामीले केही दिन पहिले देख्यौँ । यो गठबन्धन सँगसँगै जाला कि भन्ने ठानेका थियौँ । निर्वाचनपछिको संसद् यसको अवधिभर सँगै जाला भनेका थियौँ । तर समाजवादी मोर्चाको एउटा मुख्य घटक जनता समाजवादीपार्टीलाई विभाजित गरियो’, उनले भने, ‘जसपालाई विभाजित गरिएको मात्रै होइन, सरकारबाट पनि निकालियो । आफैं राजीनामा दिएर जसपा अलग भएको होइन, सरकारबाट निकालियो, मुन्टाउने काम मात्रै भएन ।’

उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्त्याएर निकाल्ने षडयन्त्रसम्म भएको अध्यक्ष नेपालले बताएका छन् । ‘उपेन्द्र यादवले राजीनामा नदिएको भए सरकारबाट गल्हत्याउँथे’, उनले भने, ‘काम छँदाको भाँडो काम सकेपछि उपेन्द्र यादव ठाँडो भए ।’

उनले आफ्नो पार्टीका सन्दर्भमा पनि फुटको हल्ला चलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको धारणा ब्यक्त गरे । अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा अहिले नै के हुन्छ भन्ने निश्चित नरहेको अवस्थामा सवै बिषयलाई गम्भीरतापूर्वक हेर्नुपर्ने जिकिर गरेका छन्। मुलुकको राजनीतिक घटनाक्रमहरु आफुहरुले पत्रपत्रिकाबाट जानकारी पाउनुपर्ने अवस्था आएको भन्दै अध्यक्ष नेपालले आफ्नो पार्टीलाई वेवास्ता गर्ने सोच्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

दुई दिनसम्म चल्ने नेकपा एकीकृत समाजवादीको केन्द्रीत कमिटी बैठकले महाधिवेशनमा पेश हुने बिभिन्न चारवटा दस्तावेजमाथि छलफल गर्दै पारित गर्ने तयारी गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार