संयुक्त बैठक अवरोध गर्दैनौँ, संसद्को अन्य बैठक चल्न दिँदैनौँ- काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमलाई अवरोध नगर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको काँग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका हुन् ।

नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आफ्ना माग पूरा नभएसम्म अवरोध कायमै राख्ने निर्णय गरेको लेखकले बताए । लेखकले सरकार सहकारी पीडितप्रति संवेदनशील हुन नसकेको आरोप लगाउँदै सरकारलाई तत्काल संसदीय समिति बनाउन माग गरेको बताए ।

काँग्रेसले संसद्को अन्य कार्यसूचीमा प्रवेश हुन नदिने निर्णय गरेको छ । सरकार गैरजिम्मेवार रूपमा प्रस्तुत भएको भन्दै यसले संसद्का बैठक प्रभावित भएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने उनले बताए ।

आजको बैठकमा काँग्रेसले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणमा सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै यस विषयमा संसदीय दलमा प्रवेश गरेको र अर्को बैठकमा यस बारेमा काँग्रेसले आफ्नो धारणा बनाउने लेखकले बताए ।

काँग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ । यसअघि मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसका नेताहरूसँग राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम अवरोध नगर्न आग्रह गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार