बझाङमा दुई हजारबढी मत ल्याए पनि एकीकृत समाजवादीले जमानत जोगाउन सकेन

बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन् । मतगणना सकिँदा लाग्दा भण्डारीले ११ हजार ६१३ मत ल्याएका छन् भने कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २६६ रहेको छ ।

बझाङको प्रदेशसभा उपचुनावमा नेकपा एकीकृत समाजवादीसहित ८ उम्मेदवारले जमानत जोगाउन पनि असफल भएका छन् । तेस्रो बनेको माओवादी केन्द्रले भने ३ हजार ८३१ मतसहित जमानत जोगाएको छ ।

एकीकृत समाजवादीका दिलबहादुरले २ हजार ५१४ मतसहित चौंथो बने पनि जमानत जोगाउन सकेनन् । त्यस्तै, जमानत नजोगाउनमा राप्रपा पनि छ । राप्रपाका किशोरकुमार खड्काले २४२ मत पाएका छन् ।

बझाङ प्रदेश सभा उपचुनावमा खसेको मतमध्ये २९ हजार ७०५ मत सदर भएको थियो । त्यसको १० प्रतिशत पनि जनमत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत भएको हो । जमानत जफत हुने उम्मेदवारमध्ये ६ जनाले ५० मत पनि कटाउन सकेनन् ।

नेसनल रिपब्लिक नेपाल पार्टीका कमल घर्तीमगरले सबैभन्दा थोरै २ मत मात्रै पाए । नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाहीले २४ मत, जनमत पार्टीकी सुशीला देवी विष्टले २६, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्काले २८, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले ३५ र जनता समाजवादी पार्टीका रामबहादुर जाग्रीले ४४ मत पाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार