लेवान्डोवस्कीको ह्याट्रिकप्रेरित बार्सिलोनाको सहज जित

रोबर्ट लेवान्डोवस्कीको ह्याट्रिकप्रेरित बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियाविरुद्ध ४–२ को सहज जित निकालेको छ । 

सोमबार भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लेवान्डोवस्कीले ह्याट्रिक गर्दा फेर्मिन लोपेजले एक गोल थपे । भ्यालेन्सियाका ह्युगो डुरो र पेपेलुले गोल फर्काएका थिए । 

खेलको २२औँ मिनेटमा लोपेजको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । तर, २७औँ मिनेटमा डुरोले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काएका थिए । ३८औँ मिनेटमा पेपेलुले पेनाल्टीमार्फत् गोल गरेपछि भ्यालेन्सियाले २–१ को अग्रता बनाएको थियो । 

तर, ४९औँ मिनेटमा लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । ८२औँ मिनेटमा लेवान्डोवस्कीकै गोलमा बार्सिलोनाले ३–२ को अग्रता बनाएको थियो । यस्तै, इन्जुरी समयमा लेवान्डोवस्कीले ह्याट्रिक गरेपछि बार्सिलोनाले ४–२ को जित निश्चित गरेको हो । 

जितसँगै ३३ खेलबाट ७३ अंक जोडेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट ४७ अंक जोडेको भ्यालेन्सिया तालिकाको आठौँ स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार