थलीमा मृत भेटिएका पुरुषका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिए

काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा मंगलबार बिहान मृत फेला परेका पुरुषका छोरा पनि घाइते अवस्थामा भेटिएका छन्।

मृत भेटिएका भक्तपुर नगरपालिका–७ छालिङ घर भएका ५२ वर्षीय कृष्ण नगरकोटीका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नगरकोटीका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा थलीमा कृष्ण नगरकोटीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको छ। मृतकका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिनुले प्रहरी सशंकित बनेका छन्।

मंगलबार बिहान थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनको शव मुलपानीबाट थलीतर्फ जाने सडकको बायाँतर्फको निर्माणाधीन पर्खालमा भेटिएको थियो। प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको थियो। घटनास्थलमा ब्लेडसमेत भेटिएको छ। प्रहरीले शवको मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार