आइपिएल: आज कोलकोता र सनराइजर्स भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुँदै छ । पहिलो क्वालिफायरमा कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुँदै छ । अहमदवादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुँदै छ ।

कोलकोता अङ्क तालिकामा शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न लागेको हो । कोलकोताले समूह चरणमा १३ खेलमा ९ जित र ३ हार बेहोर्दै २० अङ्क हासिल गरेर शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै सनराइजर्स हैदरावादले १४ खेलमा ८ जित र ५ खेलमा हार बेहोरेको थियो भने एक खेल रद्द भएको थियो । सनराइजर्स १७ अङ्क हासिल गर्दै दोस्रो स्थानमा रहेको छ ।

कोलकोता नाइट राइडर्सले अहिलेसम्म २०१२ र २०१४ मा गरी दुई पटक आइपिएलको उपाधि जितेको छ । त्यस्तै कोलकोता २०२१ मा उपविजेता बनेको थियो । योसहित कोलकोता आठौँ पटक प्लेअफमा पुगेको छ ।

त्यस्तै सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ । २०१३ देखि आइपिएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो भने यो सहित सात पटक प्लेअफमा पुगेको छ ।

यस सिजनमा कोलकोताका लागि सुनिल नारनको सबैभन्दा उत्कृष्ट प्रदर्शन रहेको छ । उनले अहिलेसम्म ४६२ रन बनाएका छन् भने १७ विकेट समेत लिएका छन् ।  त्यस्तै कोलकोताका लागि वरुण चक्रवर्तिले १९ विकेट लिएका छन् भने हर्षित रानाले १७ विकेट लिएका छन् ।

अर्को तर्फ सनराइजर्सका लागि यस सिजनमा ट्राभिस हेडले शानदार सुरुवात दिइरहेका छन् । उनले यस सिजनमा अहिलेसम्म ५३३ रन बनाएका छन् । त्यस्तै अभिषेक शर्माले पनि यस सिजनमा शानदार ब्याटिङ गर्दै अहिलेसम्म ४६७ रन बनाएका छन् । त्यसै गरी सनराइजर्सका लागि ट नटराजनले १७, कप्तान पाट कमिन्सले १५ विकेट लिएका छन् ।

आजको पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार