उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

लमजुङ– सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनको काम ठप्पप्रायः छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य निर्धारण भएको तीन अर्ब लागतको परियोजनाको काम ६ वर्षमा पनि पूरा भएको छैन ।

हालसम्म ७० प्रतिशतमात्र निर्माण सम्पन्न भएको परियोजनाको उदिपुर–भरतपुर डिभिजन प्रमुख नारायण रेग्मीले बताए । २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सन् २०१८ जनवरी १७ देखि थालिएकामा कारोना महामारी र बन कटानीलगायत कारणले पूरा हुन नसकेको उनको भनाइ छ ।

विसं २०८१ साउन १५ गतेभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीको म्याद थपिएको छ । आयोजनाकाअनुसार लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म ६७ किलोमिटर प्रसारण लाइन पुर्‍याउन एक सय ९९ वटा टावर आवश्यक पर्नेछन् ।

हालसम्म १२० टावरको फाउण्डेसन तयार भएको छ । गोरखा र तनहुँमा गरी १० हजार दुई सय २५ वटा रूख फँडानीको तयारी भएको डिभिजन प्रमुख रेग्मीले बताए । लमजुङमा निर्माण हुने ४५ वटा टावरमध्ये ३२ सम्पन्न भइसकेका छन् ।

मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको स्विच यार्डसम्म लाइन पुर्‍याउन ६ किलोमिटरसम्म यही प्रसारण लाइन प्रयोग भएको छ । उदिपुरबाट मध्यमर्स्याङ्दीको ६ किलोमिटर खण्डमा १७ वटा टावर छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार