ओलीको जालझेलमा नपरी पार्टी पुनर्गठनमा लाग्न माधव नेपालको आग्रह

बालकोटमा भएको भनिएको सहमति अवसरवादको नौलो रूप

प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको भ्रममा नपरी पार्टी पुनर्गठनको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

सोमबार चन्द्रागिरि रिसोर्ट आफू निकटका नेताहरूसँग छलफलमा व्यस्त नेता नेपालले आग्रह गरेका हुन । दिउँसो ओली निवास बालकोट पुगेर एमालेमै समाहित हुने निष्कर्षमा पुगेका आफू निकटका नेताहरूलाई इङ्गित गदै नेपालले वार्ता र सहमतिका नाममा भएका छलकपटपूर्ण कार्यबाट भ्रमित नहुन समेत सुझाव दिएका छन् ।

नेपालले आफूहरूको दल दर्ता रोक्नका लागि ओलीसँगै कार्यदलका सदस्यहरू पनि लागि परेको बताए। उनले यदि पार्टी एकता गर्ने ओलीको इमान्दार चाहना हो भने नेकपा एकीकृत समाजवादी दर्ता भएको भोलिपल्ट वार्ता गर्नुपर्ने अडान आफू निकटका नेताहरूलाई सुनाएका छन् ।

सम्बोधनका क्रममा नेता नेपालले ‘हामी निर्णायक मोडमा पुग्दा हाम्रै भनिएका साथीहरूले दुई दिन रोकौँ भन्दै हामीलाई पछि पार्दै गए,’ सम्बोधनका क्रममा नेपालले भने, ‘यसपालि पनि उनीहरू ओलीको जालझेलमा फसेका छन्, उनीहरूका ‘बा’ के के कुरा मान्न तयार भएका रहेछन् एक दुई दिनमै देखिन्छ।’

नेपालसहित केन्द्रीय सदस्य र सांसदहरू सोमबार साँझ पार्टीको राजनीतिक दस्ताबेज र अन्तरिम विधानबारे छलफल गर्न चन्द्रागिरि पुगेका हुन्। निर्वाचन आयोगले दल दर्ताका लागि नेताहरूलाई बुधवार बोलाएको र मङ्गलवार एमालेले स्थायी कमिटी बैठक राखेको सन्दर्भलाई समेत हेरेर उनीहरू चन्द्रागिरि पुगेका हुन्।

मङ्गलवार पार्टीको विधान र राजनीतिक दस्ताबेजबारे छलफल हुने र सकेसम्म मङ्गलवार साँझ नभए बुधवार बिहान फर्किने नेता रामकुमारी झाँक्रीले बताइन्। उनका अनुसार राजनीतिक दस्ताबेज र अन्तरिम विधान नेताहरूलाई सोमबारै वितरण गरिनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार