नवगठित जसपाका जनप्रतिनिधिले जेठ १३ भित्र आफू आवद्ध दलको सनाखत गर्नुपर्ने

निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालबाट विभाजित भएर नवगठित जनता समाजवादी पार्टी पक्षधरका प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूको सनाखत प्रक्रिया सुरु गरेको छ ।

आयोगले मंगलबार एक सूचना जारी गरेर प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रक्रिया अगाडि बढाएको हो । नवगठित जनता समाजवादी पार्टीको नेतृत्व अशोक राईले गरेका छन् ।

आयोगले नयाँ दल गठन भएको २१ दिन अर्थात जेठ १३ गतेभित्र प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारी समक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारीसमक्ष आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्र साथमा लिई सनाखतका लागि स्वयं उपस्थित हुनपर्ने जनाएको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम आयोगको मिति २०८१/०१/२४ गते जनता समाजवादी नेपाल दलबाट टुक्रिएको नयाँ दललाई जनता समाजवादी पार्टीको मान्यता दिएको थियो ।

वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित पार्टी फुटाएका थिए ।

आयोगका अनुसार जसपाबाट संघीय संसदमा १५ जना सांसद निर्वाचित छन् । जसमा प्रतिनिधिसभामा १२ जना र राष्ट्रियसभामा तीनजना छन् । उनीहरूमध्ये सातजना सांसद विभाजनको पक्षमा उभिएका छन् । सनाखत गर्ने सांसदमा अशोककुमार राई, नवलकिशोर साह, रञ्जु झा, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव छन् ।

प्रदेशसभामा जसपा नेपालका २२ जना निर्वाचित छन् । यस्तै स्थानीय तहमध्ये २१ जना गाउँपालिका अध्यक्ष, १२ जना उपप्रमुख, १९ जना गाउँपालिका उपाध्यक्ष, २९५ वडा अध्यक्ष, २९९ जना महिला सदस्य, २९६ जना दलित महिला सदस्य र ५९८ जना खुला सदस्य निर्वाचित भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार