उत्तरी ग्रीसमा बस दुर्घटना हुँदा सात आप्रवासीको मृत्यु भएको छ । दुई नेपालीसहित ८ जना गम्भीर घाइते भएको डेली मेलमा समाचार छ । उत्तरी ग्रीस र टर्कीको सीमा क्षेत्रमा उक्त बस दुर्घटना भएको समाचारमा उल्लेख छ ।
दुर्घटनामा परी ज्यान गुमाउने ६ पुरुष र एक महिला रहेका छन् । मृतकको हालसम्म सनाखत हुन सकेको छैन । उनीहरु गैरकानुनी रुपमा टर्कीबाट ग्रीसको थेसालोनिकीतर्फ गइरहेका थिए ।
नेपालीसहित १५ जना आप्रवासीहरु उक्त बसमा सवार थिए । युरोपेली मुलुक छिराउन मानव तस्करले उनीहरुलाई त्यहाँ पुर्याएको हुनसक्ने बताइएको छ ।
तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको हुनसक्ने स्थानीय प्रहरीले बताएको छ । घाइतेहरु चार जना पाकिस्तानी, दुई जना नेपाली र अफगानी रहेका छन् ।