प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच तीन घण्टा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच झण्डै तीन घण्टा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार राति तीन नेताबीच समसामयिक राजनीति र बजेट अधिवेशनको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । विशेषगरी गृहमन्त्री लामिछानेमाथि नेपाली कांग्रेसले छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएकोबारे छलफल भएको स्रोतले बतायो ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले सहकारी ठगी प्रकरण दिनानुदिन जटिल बन्दै गएकोले कांग्रेसले माग गरे बमोजिम संसदीय छानबिन समिति बनाउनुपर्ने अवस्था आउनसक्ने बताएका थिए । उनीहरु पनि सहकारीमा देखिएका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

भेटमा कांग्रेसको मागलाई समेत सम्बोधन हुने गरी मन्त्रिपरिषद् बैठकबाट सहकारीमा भएको अनियमिताबारे छानबिन गर्न समिति गठन गरेर संसदमा जानकारी गराउन तीनै दलका नेता सहमत भएका छन् । कुनै दलका नेताको नाम उल्लेख नगरी सहकारी अनियमितताको छानबिन समिति गठनका लागि मन्त्री लामिछाने समेत तयार भएको बालुवाटार स्रोतको भनाई छ ।

सरकारले आगामी वैशाख २८ गते बजेट अधिवेशन बोलाएको छ । सो अधिवेशन सुरु हुनुअघि नै एकखालको सहमति जुटाउने गरी प्रधानमन्त्री प्रचण्डले केही दिनदेखि नै पहल गरेका थिए ।

उनीहरुबीच आगामी आर्थिक वर्षको बजेटको खाकाको विषयमा पनि छलफल भएको छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार