जनकपुरमा कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम- जनकपुरधाममा कारले मोटरसाइकलमा ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ।

शनिबार बिहान करिब ३ बजेको समयमा जनकपुरधामको थापाचोकमा बा २१ च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो।

धनुषा प्रहरीका अनुसार पत्रकार रोहिताको घटनास्थलमै मृत्यु भएको थियो। धनुषाको सहीदनगर नगरपालिका ८ का बासिन्दा ३२ वर्षीया रोहिता राजधानी जनकपुर अनलाइनमा कार्यरत थिए।

यस्तै, मोटरसाइकलमा पछाडि सवार मृतक रोहिताका साथी २५ वर्षीय जयनाथ यादव घाइते भएका छन्।

उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ। कार र चालक प्रहरीको नियन्त्रणमा छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार