जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।

शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले विश्वासको मत प्राप्त हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह गरे ।

‘७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौं पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन’, उनले भने ।

३१ वैशाखमा जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले नियुक्ति हुँदा, एमालेले सत्ता गठबन्धन छाड्दा र कांग्रेसले सत्ता गठबन्धन छाड्दा गरी तीन पटक विश्वासको मत लिइसकेका छन् ।

संसदमा आफूलाई विश्वासको मत दिने सांसद संख्या घटबढ भइरहे पनि विश्वासको मत पाउनेमा आशंका नरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भोलि -आइतबार_ सम्ममा प्रमुख प्रतिपक्षी दलसँग सहमति हुने विश्वास व्यक्त गरेका छन्। उनले प्रतिपक्षी दलसँग छलफल भइरहेको बताए।

प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान बालुवाटारमा बोलाएर कांग्रेस नेताहरूसँग छलफल गरेका थिए। सो छलफल सकारात्मक भएको कांग्रेसका नेताहरूले बताएका छन्।

उनले आगामी जेठ १५ गते ल्याउन लागेको बजेट प्रभावित नहोस् भनेर आफ्नो सम्पूर्ण ध्यान सदन खुलाउनेतिर लागेको पनि बताए।

‘बजेट प्रस्तुत गर्न असहजता नहोस् भनेर सक्रिय हुनुपर्ने बाध्यता पनि छ आवश्यकता पनि छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार