भारत र न्युजिल्यान्डको सेमिफाइनल सम्भावना जीवितै

भारतले स्कटल्यान्डमाथि आठ विकेटको जित हासिल गर्दै टीट्वान्टी विश्वकपको सेमिफाइनल पुग्ने गणितीय सम्भावना जीवित राखेको छ । शुक्रवार भारतीय बलरहरूले स्कटल्यान्डलाई १७ ओभर ४ बलमा ८५ रनमा रोकेका थिए ।

भारतका लागि मोहम्मद सामी र रविन्द्र जडेजाले समान ३–३ विकेट लिए स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले सर्बाधिक २४ रन बनाए । ८६ रनको लक्ष्य पछ्याएको भारत ६ ओभर ३ बलमा ८९ रन बनाएर जित हासिल गर्न सफल भयो । केएल राहुलले ५० रनको इनिङ खेल्दा रोहितले ३० रनको योगदान गरे ।

शुक्रबारको जितपछि सुपर–१२ को समूह–२ मा भारत नेट रनरेटमा अफगानिस्तानलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ । चार खेलको समाप्तीसम्म शतप्रतिसत जितको यात्रालाई कायम राखेको पाकिस्तान आठ अंकका साथ शीर्ष स्थानमा रहँदा तीन जित हासिल गरेको न्युजिल्यान्ड ६ अंकका साथ दोस्रो स्थानमा छ ।

भारत र अफगानिस्तानको खातामा समान चार अंक भए पनि भारत स्कटल्यान्डमाथिको प्रभावशाली जितपछि नेट रनरेटमा अगाडि बढेको छ । भारतको रनरेट १.६१९ पुग्दा अफगानिस्तानको १.४८१ छ ।

एक खेलमा जित हासिल गरेको नामिबिया दुई अंकका साथ पाँचौं स्थानमा रहँदा सबै चार खेलमा पराजय भोगेको स्कटल्यान्ड पुछारमा छ । समूहबाट पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । अब भारत सेमिफाइनल पुग्नका लागि न्युजिल्यान्ड आइतबार अफगानिस्तानसँग पराजित हुनुपर्नेछ । त्यसपछि सोमबार नामिबियालाई फराकिलो अन्तरमा हराउन सके भारतको अन्तिम चार यात्रा पक्का हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार