नेपालले वेस्टइन्डिज ‘ए’ सँग आज दोस्रो खेल खेल्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि शुरु हुने छ । यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ ।

कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए । पहिलो खेलको प्रदर्शनले टोलीको मनोबल उच्च छ । तर, रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेका थिएनन् । सबै ब्याटरबाट नेपाल भूमिका अनुसार प्रदर्शन चाहन्छ ।

बलिङमा अभिनाश बोहराले लगातार योर्कर फाल्दै राम्रो प्रभाव छाडेका थिए । पहिलो खेलमा करण केसी र सोमपाल कामी दुवै थिएनन् । आज यी दुई मध्य एकलाई मौका दिनसक्छ । पहिलो खेलमा ३ ओभरमा ५३ रन खर्चेका कमलसिंह ऐरीलाई आज पनि नेपालले मौका दिनसक्छ । विश्वकप अघि उनलाई नेपालले हेर्नेछ ।

विवेक यादव भने लगातार खराब प्रदर्शन गर्दै आएका छन् । पहिलो खेलमा ७ रनमा आउट भएका थिए । विवेकको स्थानमा आज लोकेश बमलाई मौका दिनसक्ने सम्भावना छ ।

पहिलो खेलमा शून्यमा आउट भएका जोनसन चार्ल्सको विकेट समयमै लिन आवश्यक छ । दुई पटक टी-२० विश्वकप विजेताका सदस्य चार्ल्स वेस्टइन्डिजका पहिलो रोजाइका ओपनर हुन् । उनी चलेको खण्डमा नेपालको जित टाढा हुनसक्छ । अर्का विकेटकिपर आन्द्रे फ्लेचर १३ रनमा रन आउट भएका थिए ।

पहिलो खेलमा हारपछि फबिएन एलेनले मौका पाउने सम्भावना बलियो छ । उनी स्पिन अलराउन्डर हुन् । लेग स्पिनर हेडन वाल्श जुनियरलाई पनि खेलाउन सक्छ । प्रमुख बलर ओबेद म्याककोय, ओशान थोमस र किमो पलबाट वेस्टइन्डिज राम्रो बलिङ चाहन्छ ।

वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिम छानेको छ ।

नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् । 

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् । 

नेपालले सिरिजको तेस्रो खेल खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार