विभिन्न देश पठाउने भन्दै ४२२ जनाबाट तीन करोड रुपैयाँ उठाएर ठगी

वैदेशिक रोजगारीमा पठाउने भन्दै करोडौँ रुपैयाँ असुल्ने कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धादिङको धुनीबेँसी नगरपालिका–४ का ३१ वर्षीय जीवा गौतम भनिने रमेश बयलकोटी र कालीकोट छाप्रेका २७ वर्षीय दर्शन नेपालीलाई पक्राउ गरेको हो ।

बुल्गेरिया, न्युजिल्यान्ड, रोमानिया, सर्बिया, क्रोएसियालगायतका देशहरूमा पठाउने भन्दै प्रतिव्यक्ति १० देखि १४ लाख रुपैयाँ उठाएर उनीहरू सम्पर्कविहीन भएको उजुरी परेपछि पक्राउ परेका हुन् ।

उनीहरूले ४२२ जनाबाट तीन करोड रुपैयाँ संकलन गरेको खुलेको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

उनीहरूलाई कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थी नेतृत्वको टोलीले लामो समयको खोजीपछि पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ८४ थान राहदानी र १८२ जनाको विवरण राखिएको फाइल पनि प्रहरीले बरामद गरेको छ ।

उनीहरूमध्येका केहीले भारतमा बसेर नक्कली कागजात बनाउने गरेको खुलेको छ । गिरोहका केही अझै फरार छन् । विदेश पठाउने भन्दै उनीहरूले भिसा प्लस प्रालि कन्सलटेन्सी सञ्चालन गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार