कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो १:१

मर्जरपछि बैंकको सीईओमा अर्याल, खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत

कुमारी र एनसीसी बैंकबिच मर्जरमा सम्झौता भएको छन् । दुई बैंकबीच सोमबार काठमाडौंको म्यारियट होटेलमा मर्जरमा जाने सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्र अनुसार सेयर आदान प्रदान (स्वाप) रेसियो १ बराबर १ रहेको छ । मर्जरमा जाने समझदारीपत्रमा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

दुई बैंक गाभिएर कुमारी बैंकको नाममा सञ्चालन हुनेछन् भने मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन् ।अर्याल हाल एनसीसीका सीईओ हुन् । यस्तै कुमारीका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् ।

एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याइने छ। कुमारीलाई भने यो योजना ल्याइँदैन। अहिले एनसीसीमा १६०० कर्मचारी छन् भने कुमारीमा १९०० कर्मचारी छन् । एक्सटेन्सन काउन्टर बाहेक शाखा संख्या ३५५ पुग्ने छ।

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।

कस्तो छ कुमारी र एनसीसीको बित्तिय अवस्था ?

कुमारी बैंक लिमिटेडले २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.८७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.६७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ४.४८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४५.८१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३२.६८ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ।

यस्तै नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड अर्थात एनसीसी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.९८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.९३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ५३.४५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २४.५८ प्रतिशत र सञ्चालन मुनाफा ३९.१७ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ।

मर्जरका लागि छलफलमा एनसीसी र कुमारी बैंक

मर्जर सम्झौताको अन्तिम तयारीमा एनसीसी र कुमारी बैंक

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार