मर्जरका लागि छलफलमा एनसीसी र कुमारी बैंक

मर्जरका लागि एनसीसी र कुमारी बैंकबीच तिब्र छलफल सुरु भएको छ । यसअघि नेपाल राष्ट्र बैंकले यी दुई बैंकलाई निर्देशन दिएको थियो ।

बैंकको मर्जरपछि १००ः१०० को स्वाप रेसियो हुनेगरी अन्तिम चरणको छलफल भइरहेको स्रोतले जनाएको छ ।

राष्ट्र बैंकले ०७९ पुससम्ममा जोडी खोजेर मर्जरमा जान निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले मर्जरमा जाने सम्झौता हालसम्म नगरेका बैंकहरूलाई ताकेता गरिरहेको छ। राष्ट्र बैंकले एनसीसी, कुमारी र सनराइज, सिद्धार्थ, लक्ष्मी, माछापुच्छ्रे, सानिमा र सिटिजन्स बैंकलाई पुस मसान्तसम्म मर्जरमा जाने सम्झौता गर्न ताकेता गरिरहेको छ।

यसअघि मर्जरका लागि कुमारी र लक्ष्मी बैंकबीच लामो समयसम्म छलफल चलेको थियो तर कुरा नमिलेपछि कुमारीले एनसीसीसँग मर्जरको लागि छलफल थालेको हो ।

कस्तो छ कुमारी र एनसीसीको बित्तिय अवस्था ?

कुमारी बैंक लिमिटेडले २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.८७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.६७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ४.४८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४५.८१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३२.६८ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ।

यस्तै नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड अर्थात एनसीसी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.९८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.९३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ५३.४५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २४.५८ प्रतिशत र सञ्चालन मुनाफा ३९.१७ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार