सिप्रदीले ४० लाखमा बेचेका टाटाका ३ हजार इभी गाडी कवाडीको मूल्यमा पनि बिक्री हुन छाडे

पोखराका सन्दीप अधिकारीले टाटाको नेक्सन इभी किनेको १ वर्ष भयो । ४० लाख बढी मूल्यमा किनेको गाडी एक वर्ष नहुँदै १० लाख घटाएर बेच्न राखेका थिए । तर, पनि टाटाको गाडी किन्न् कसैले रुचि देखाएनन् । किन्ने ग्राहक नभेटेपछि उनले यसको मूल्य घटाएर १० लाखबाट ११ लाख घाटा व्यहोर्न तयार भएपछि दुई महिनादेखि बेच्न खोजेको गाडी सोमबार बल्ल बिक्री गर्न सके ।

काठमाडौँ बालाजुका कुमारी मोक्तानले त नेक्सन इभी नेपालमा बिक्री सुरु हुँदै गर्दा ६ महिना पालो कुरेर किनेकी थिइन् । ४२ लाख तिरेर किनेको गाडी १३ हजार किलोमिटर बल्लतल्ल कुद्यो अहिले गाडी २९ लाखमा बिक्रीमा छ । फेसबुक र हाम्रो बजारमा राखेको गाडी हेर्न धेरै जना आएका छन् । तर यसको रिसेल भ्यालु नै छैन बैंकिङ प्रक्रिया मिलाएर आउँछु भन्दै फर्किने गरेका छन् । उनी भन्छिन् यदि कसैले क्यास दिएर लैजाने भए मूल्य अझै घटाएर दिने थिए ।

११ वर्षदेखि ट्याक्सी चलाउन थालेका ललितपुरको नख्खु बस्ने दोलखाका भीम श्रेष्ठले फाइदा हुने सोचेर टाटाको टिगोर किने । विद्युतीय गाडी भएकाले तत्कालको हिसाब हेर्दा ट्याक्सीमा फाइदा पनि भएको देखिन्छ । तर, यसले किनेको ५ महिनाबाटै दिन थालेको समस्याका कारण अहिले तातो दूध निल्नु न ओकल्नुको अवस्थामा पुगेको उनी सुनाउँछन् । विद्युत्बाट चल्ने भएकाले पेट्रोलको तुलनामा आम्दानी बढेको देखिन्छ । तर, एक वर्ष नहुँदै ब्याट्रीको टिकाउ घटेका देख्दा र यसको रिसेल भ्यालु सुन्दा उनलाई अहिले यसबाट कसरी बाहिरिने होला भन्ने चिन्ता मात्रै बढेको छ । झन् चार्जिङको लाइनमा बसेका बेला टाटाको गाडीको ब्याट्रीमा देखिएको एकपछि अर्को समस्या सुन्दा यत्रो लगानी १ वर्ष नहुँदै बालुवामा पानी हुने त होइन भन्ने भय उनको मनमा छ ।

यी त केही प्रतिनिधि मूलक घटना मात्रै भए । यसबाहेक पनि ग्राहकले किनेको हप्ता दिन नहुँदैबाट ग्राहकले दोस्रो बजारमा बेच्छु भन्न थालेपछि अहिले टाटाका गाडीको मूल्य कवाडीको मूल्यमा झरेको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदीले बेचेका झन्डै ३ हजार इभी गाडी वर्ष दिन नहुँदै ग्राहकले बेच्न खोज्ने र सिप्रदी आफैले कल्पनै नगरेको मूल्य घटाएर माग्न थालेपछि टाटा गाडीका प्रयोग झन् अतालिएका हुन् । थापाथलीस्थित सिप्रदीको स्वरूममा पुग्ने ग्राहकलाई टाटा आफैले सुनाएको मूल्यका कारण अतालिएका ग्राहक अहिले आफ्नो गाडीको मूल्य कवाडीको मूल्यमा झार्नुपरेको बताउँछन् । यही कारण पनि होला औसतमा दैनिक करिब १० वटा टाटाका गाडी फेसबुकको मार्केटप्लेस र हाम्रो बजारमा बिक्रीका लागि राखिन्छन् ।

नेपालमा पहिलो पटक इभीलाई एसयूभी मोडलमा सार्वजनिक गरेको टाटाको नेक्सन इभी, टाटा टिगोर, टियागो लगायतका गाडीमा एकै पटक धेरै समस्या देखिएपछि यसरी अतालिएको धेरैको बुझाई छ ।

त्यसबाहेक नेक्सन इभीको सर्भिसमा पनि ठगिने गरेको ग्राहकहरू बताउँछन् । गाडीको सामान्य मर्मत गरेको डेढ लाखसम्म लिएको देखिएको छ । सिप्रदीले गाडीमा नदेखिएका समस्या देखाएर पार्ट परिवर्तन मर्मत गरेको र इन्स्योरेन्स कम्पनीको मिलेमतोमा ग्राहकलाई ठगेकोसमेत ग्राहकको आरोप छ । सामान्य डेन्टपेन्टको ८० हजारसम्म लिएको र उल्टै ग्राहकलाई धम्काउने गरेको भन्दै पीडितले सामाजिक सञ्जालमा कम्पनीका विरुद्ध आक्रोश पोखेका छन् ।

आफुले गाडीमा देखिएका समस्याबारे गुनासो गर्दा दुर्व्यवहार भोगेको र सर्भिसमा पुगेका गाडीलाई सर्भिस नै नगरी पैसा लिएको समेत उनको आरोप छ ।

सुरुमा प्रचार प्रसारबाट प्रभावित भएका ग्राहकले सिप्रदीमा पालो पर्खेर टाटाका गाडी खरिद गरेका थिए । तर, अहिले टाटाका गाडी बेच्ने सिप्रदी मातहतका कुनै पनि स्वरुमले महिनाका दुई वटा पनि गाडी बेच्न सकेका छैनन् । स्वरुममा गएर नयाँ गाडी किन्न ग्राहक अनिच्छुक भएका मात्रै होईनन् आकर्षक प्याकेज राखेर निक्कै हल्लाखल्ला गर्दासमेत ग्राहकको रुचि टाटाका गाडीप्रति नदेखिएको स्वयं विक्रेताहरू बताउँछन् ।

गएका ३ महिनामै ५ पटकसम्म निक्कै हल्लाखल्लासहित एक्सचेन्ज क्याम्प ल्याउँदा समेत ग्राहकले यी गाडीमा रुचि देखाएनन् । यही कारण पनि होला एकै वर्ष २ हजार गाडी बेचेको सिप्रदीले अर्को वर्ष २ सय बेच्न सकेन । यसको मुख्य कारण भनेकै टाटाका गाडी किन्ने ग्राहकले भोगेका समस्याहरू हुन । झन्डै ७ हजार किलोमिटर गुडाएका अधिकारीका अनुसार उनले यो बिचमा ब्याट्रीको टिकाउको समस्या मात्रै भोगेनन् । एक पटक ट्राई रड, अर्को पटक ब्यालेन्स रड र फेरि चार्जिङमा समस्या भएर १५ दिन सर्भिस सेन्टरमै छाड्नुपर्ने अवस्था आयो । जसका कारण ४० लाख बढीमा किनेको गाडी अप्ठ्यारोमा काम नलागेको उनको भोगाई छ । पार्टसमा ४० हजार किलोमिटर ग्यारेन्टी भएको भनिएको गाडीको ब्यालेन्स रड राम्रो (पिच) बाटोमा भाँचिँदा समेत कम्पनीले आलेटाले जवाफ दिएर पैसा तिराएको गुनासो गरे । प्रचार गर्दा सहज सर्भिस सेन्टर र पार्टसको उपलब्धताको दाबीसहित गाडी बेच्ने सिप्रदीले अधिकारीको स्लो चार्जिङमा आएको समस्या समाधानका लागि दुई हप्तासम्म गाडी राखेको थियो । जसका कारण आफ्नो महत्त्वपूर्ण समय खेर गएको अनुभव सुनाए ।

खास गरी टाटाका विद्युतीय गाडी किन्ने धेरै व्यक्तिहरू इभीको ब्याट्रीका कारण दुःख पाइरहेका छन् । यसबाहेक जुनसुकै बेला आगो लाग्ने समस्या, कमजोर बिएमएस सिस्टमका कारण पनि ग्राहकले दुःख पाइरहेको बताउँछन् । गाडीहरूमा दिनप्रतिदिन यस्ता समस्याहरू बढ्दै जाँदा प्रयोगकर्ताले टिकटक, युट्युब, फेसबुक जस्ता सामाजिक सञ्जालहरूमा टाटाको नेक्सन, टियागो र टिगोरमा देखिएका समस्याहरू छ्यापछ्याप्ती पोस्ट गरिरहेका छन् । लामो समय टाटाका गाडी प्रयोग गरेका अनुभवी प्रयोगकर्ताहरूले ‘टाटाको इभीमा फसिने’ भन्दै नलिन अन्यलाई आह्वान गरिरहेका छन् ।

महँगो इन्धनको मारबाट बच्न इभी गाडीका लागि टाटा विद्युतीय गाडी खरिद गरेकाहरू अहिले समस्यामा पर्न थालेका हुन् । टाटा नेक्सन इभी बिक्री गर्दा कम्पनीका प्रतिनिधिहरूले एक पटक फूल चार्ज गरेपछि ३१२ किमीसम्म माइलेज दिने बताएर झुक्काउने गरेका छन् । तर, यी गाडी किनेर प्रयोग गरेका अधिकारी, मोक्तान र श्रेष्ठले भने कम्पनीले दाबी गरेको भन्दा आधा पनि माईलेज नपाएको सुनाए ।

उनीहरूको समान भनाई छ, आज पनि प्रयोगकर्ताले टाटाका इभी किन्ने हो भने प्राइमरी भेहिकलको रूपमा नभई वैकल्पिक भेहिकलको रूपमा मात्रै प्रयोग गर्न सकिन्छ ।

त्यसो त नेपालमा सिप्रदीले बेचेका पुराना टाटाका साना गाडी समेत पूर्णतः असफल देखिएका थिए । यस कारण टाटाले नेपालमा साना गाडी बेच्न अवस्था करिब करिब बन्द भएका अवस्थामा ईभीले छोटो समयमा राम्रो बजार पाएको थियो । तर, इभीको बारेमा सामान्य ज्ञान पनि नभएका ग्राहकलाई झुक्क्याएर बेचेका गाडी वर्ष दिन नुहदै कवाडीको मूल्यमा झरेपछि भने सिप्रदीले कारोबार नै बन्द गर्ने मनस्थितिमा देखिएको छ ।

सिप्रदीको सेल्स तथा मार्केटिङ हेर्ने सावन्त सिजापतिले नै नेक्सन इभी साट्न पुग्ने ग्राहकलाई आफूहरूले टाटाका इभीलाई राम्रो मूल्य दिन नसक्ने अवस्थामा पुगेको सुनाउने गरेका छन् । टाटाका ईभी गाडी किनेको वर्ष दिन नहुँदै विक्री गर्ने ग्राहकको भीड देख्दा अब टाटाका ईभीको मूल्य कवाडीको मूल्यमा झरेको हो भन्ने जिज्ञासामा सिजापति भन्छन् यसलाई सामान्य रूपमा लिनुपर्छ । आज पनि धेरै नयाँ ग्राहकले टाटाको इभी किन्ने रुचि देखाएकाले आफूहरूले रिसेल भ्यालुको विषयले सिरियस्ली नलिएको उनको तर्क छ । उनी भन्छन् गाडी चढ्ने रहर हुनेले फेरी बिक्री गरेर राम्रो मूल्य पार्ने सोच्नुहुँदैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार