गोंगबुको होटलमा महिलाको शव भेटियो, सँगै बसेका एक जना पक्राउ

काठमाडौँको गोंगबुस्थित एक होटलमा एक महिलाको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका–२ स्थायी घर भएकी ३१ वर्षीय कल्पना भण्डारीको गत शुक्रबार शव भेटिएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, शुक्रबार गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव भेटिएको भन्दै खबर आएपछि उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो ।

प्रहरीका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका-१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् ।

प्रहरीसमक्ष कार्कीले दिएको बयानअनुसार, लामो समयसम्म ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएका थिए । त्यसक्रममा ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि उनले पासो निकालेका थिए । त्यसपछि पुगेको प्रहरीले उनलाई अस्पताल लगेको थियो । तर, चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरेका थिए ।

भण्डारीका परिवारले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको छ । भण्डारीका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार