संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी

सहकारी प्रकरणका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बनाउने विषयमा अहिले बैठक जारी छ। सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाका अनुसार कानुन मन्त्रालयमा टीओआर कार्यदलको पहिलो बैठक बसिरहेको हो।

लामो रस्साकसीपछि सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच शनिबार संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको हो। समितिको प्रतिवेदनमा उल्लेख हुने कार्यादेश (टीओआर) बारे दलहरू आज बिहानैदेखि गृहकार्यमा जुटेका हुन्।

टीओआर बनाउने कार्यदलको नेतृत्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गर्नेछन् भने यसमा रास्वपाका तर्फबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसका तर्फबाट सांसद जीवन परियार र नेकपा एमालेका तर्फबाट महेश बर्तौला सदस्य छन्।

संसदीय छानबिन समिति बनाउने सहमति जुटेसँगै आजदेखि संसद्‌मा कांग्रेसले अवरोध नगर्ने भएको छ। आज पनि बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले लामो समयदेखि संसद् बैठक चल्न दिएको थिएन। जसका कारण संवैधानिक संकटसमेत आउन सक्ने आशंकाका बीच शनिबार दलहरूबीच सहमति जुटेको हो।

यही जेठ १ गते राष्ट्रपतिले संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम पास, प्रधानमन्त्रीले जेठ ७ गते लिने विश्वासको मत र १५ गते प्रस्तुत गर्ने बजेटलगायतका काम/कारबाही अब अगाडि बढ्ने भएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार