माओवादीको प्रदेश समितिमा ९ पदाधिकारी

नेकपा (माओवादी केन्द्र) ले प्रदेश समितिको पदाधिकारी र सदस्यको संख्या बढाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले प्रदेश समितिको पदाधिकारी सङ्ख्या नौ बनाउने निर्णय गरेको हो ।

बैठकले प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय हुने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यसअघि प्रदेश समितिमा सात सदस्यीय पदाधिकारी रहने व्यवस्था थियो ।

प्रदेश समितिको संख्या बढाउने निर्णय पनि भएको उनले बताए । “यसअघि प्रदेश समिति न्यूनतम् १७५ सदस्यीय हुने व्यवस्था थियो, तर त्यति सङ्ख्याले मात्र नपुग्ने भएकाले प्रदेश र सङ्घीय निर्वाचन क्षेत्रलाई आधार बनाएर थप्ने निर्णय भएको छ”, उनले भने ।

प्रदेश नं १ मा २५९, प्रदेश नं. २ मा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । पछिल्ला समय अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको भन्दै पार्टी प्रवेश गर्नेको सन्दर्भमा अध्ययन गर्न नेता देवप्रसाद गुरुङको संयोजकत्वमा नेता गिरिराजमणि पोखरेल र पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकाल सदस्य रहेको कार्यदल बनाइएको उनले बताए ।

“पार्टी प्रवेश गर्ने व्यक्तिले यसअघि कुन पार्टीमा कस्तो जिम्मेवारी सम्हाल्नुभएको हो, त्यसका बारेमा अध्ययन गर्ने र कस्तो राजनीतिक र साङ्गठनिक जिम्मेवारी दिने भन्ने विषयमा कार्यदलले अध्ययन गर्नेछ”, उनले भने ।

बैठकले पार्टीमा महिला प्रतिनिधित्व वृद्धि गर्न महिला विभाग गठन गर्ने निर्णय गरेको छ । विभागको प्रमुखमा पम्फा भुसाललाई तोकिएको छ । विभागलाई छिट्टै पूर्णता दिने निर्णय भएको उनले बताइन् । माओवादीले यसअघि विभिन्न ३४ वटा विभाग गठन गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार