यी हुन् बालमन्दिर प्रकरणमा पक्राउ पुर्जी जारी भएकाहरू

काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल बाल संगठनको तर्फबाट मंगलबार (२५ वैशाख) जाहेरी परेपछि अनुसन्धान सुरु गरेको हो ।

बाल संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्यसमेतका नाममा पक्राउ पुर्जी जारी भएको छ ।

नेपाल बाल संगठनका पूर्व कार्यसमिति सदस्यहरूविरूद्ध पुर्जी जारी भएको हो । तत्कालीन अध्यक्ष रिता सिंह, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महाचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, मनोहरगोपाल श्रेष्ठविरूद्ध पुर्जी जारी भएको हो । त्यस्तै प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही र दिपकदास श्रेष्ठविरूद्ध पुर्जी जारी भएको छ ।

त्यस्तै बृहस्पति विद्या सदन तर्फका पदाधिकारीहरूविरूद्ध पनि पुर्जी जारी भएको छ ।

तत्कालीन अध्यक्ष चिरञ्जिवी तिवारी, प्रविणराज जोशी, मुरारीनिधी तिवारी, श्रद्धा संघाई, पुरूषोत्तम राज जोशी, अभिनव सिंघानिया, कीर्तिप्रसाद पाण्डे र सिद्धार्थ केडियाविरूद्ध अदालतबाट पुर्जी जारी भएको छ ।

नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक(पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो ।

२०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ ।

नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी ९पछिल्लो सम्झौताअनुसार० लिजमा दिइएको थियो ।

लिजमा लिने जोशी परिवार र विशाल ग्रुप रहेको गृह मन्त्रालयले जनाएको छ। अनाथ र सहाराहीन बालबालिकाको संरक्षण गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै जाहेरी परेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार