कोशीमा उपधारा ५ अनुसारै सरकार गठन आह्वान

कोशी प्रदेशमा नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेका छन् ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेश सभाका कुनै सदस्यलाई २०८१ वैशाख २८ गते शुक्रबार अपरान्ह ५:०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेको उनको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । पछि माओवादीले पनि उनलाई विश्वासको मत दिएको थियो ।

तर गत फागुन २१ गते केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि प्रदेशमा पनि त्यसैअनुकूलका समीकरण बन्न थालेका हुन् ।

२०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

कोशीमा मुख्यमन्त्री केदार कार्की पदमुक्त हुने वा नहुने विषयमा सत्तारुढ र प्रतिपक्षबीच विवाद रहेका बेला प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीले साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत नलिएकाले सरकार रिक्तताको अवस्था देखाउँदै नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार