फेरि फुट्यो उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, लावतीको नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । अशोक राईको नेतृत्वमा नयाँ दल बनेको साता नबित्दै राजनीतिक समिति सदस्य खगेन्द्र माखिम लगायतको समूह पनि अलग भएको हो ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर जसपा नेपालबाट अलग्गिएर पहिचानवादी मोर्चा घोषणा भएको हो ।

माखिम नेतृत्वको संघीय लिम्बुवान पार्टीले २०७४ वैशाखमा जसपासँग एकता गरेको थियो । उनीसहित राजनीतिक र केन्द्रीय समितिका सदस्यहरूले बिहीबार पत्रकार सम्मेलन गरेर प्रा. डा. महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा बनाएका छन् ।

सत्ताको खेलका कारण अशोक राई नेतृत्वमा जसपा नेपाल विभाजित भएको निष्कर्षसमेत उनीहरूको छ ।

आगामी दिनमा विकास र समृद्धिको पक्षधर राजनीतिक शक्ति निर्माण, सबै समुदायको पहिचानको स्थापना, वर्गीय मुक्ति, समानुपातिक प्रणाली, धर्मनिरपेक्षता, विधिको शासन स्थापना र भ्रष्टाचार नियन्त्रण गर्दै देशलाई समृद्धि पथतर्फ लैजाने मोर्चाको भनाइ छ ।

पहिचानका मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा अलग–अलग रही काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्तित्व सबैलाई नयाँ शिराबाट एकताबद्ध बनाउने प्रयास गरिने मोर्चाले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार