नगर प्रहरी कुटेको आरोपमा ४ जना फुटपाथ व्यापारी पक्राउ

काभ्रेमा नगर प्रहरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले चारजना फुटपाथका व्यापारीलाई पक्राउ गरेको छ। बनेपा नगरपालिका-७ स्थित चारदोबाटो चोक नजिक अरनिको राजमार्गमा गएको मंगलबार नगर प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

नगर प्रहरीमाथि कुटपिट र झैझगडा भएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएपछि प्रहरीले अनुसन्धान गरेको छ। बनेपा नगरपालिकाको उजुरीका आधारमा घटनामा संलग्नहरुलाई मुलुकी अपराध सहिताको दफा ११८ को कसुरअनुसार पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका- १ घर भएका २६ वर्षीय कृष्ण मानन्धर, सोही ठाउँकी ५० वर्षीया राममाया मानन्धर, ४० वर्षीया रोजिना मानन्धर र बनेपा- ७ की ४० वर्षीया खड्गमाया श्रेष्ठ छिन्। उनीहरुलाई हिरासतमा राखेर थप कारबाही प्रक्रिया अघि बढाइएको काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार