आठ दिनअघि कलंकीबाट हराएकी युवती पशुपति क्षेत्रमा विक्षिप्त अवस्थामा भेटिइन्

आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने बुधबार साँझ पशुपति क्षेत्रमा भेटिएकी छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिए । उनी हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको एसपी अधिकारीको भनाई छ ।

‘अहिले उनी विक्षिप्त अवस्थामा छिन्, ‘काउन्सिलिङ’ गरेपछि मात्रै जानकारी लिने काम हुन्छ’, प्रवक्ता अधिकारीले भने ।

उनको घर चितवनको कालिका नगरपालिका–६ जमुनापुर भए पनि लामो समयदेखि कलङ्कीस्थित मामाघरमा बसेर इञ्जिनियरिङ पढ्दै आएकी थिइन् । उनी यही वैशाख १९ गतेदेखि हराइरहेकी थिइन् ।

परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएपछि सम्पर्कविहीन भएकी उनका परिवारले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार