लुम्बिनीका विना विभागीय सात मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनी प्रदेशका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । बुधबार मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रीहरूलाई जिम्मेवारी बाँडफाँट गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ ।

उनीहरु चारै जना नेकपा एमालेका तर्फबाट मन्त्री नियुक्त भएका थिए । यसअघि महरा मुख्यमन्त्रीमा नियुक्त भएकै दिन एमालेका चेतनारायण आचार्य अर्थमन्त्रीमा नियुक्त भएका थिए ।

यस्तै, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय धर्मबहादुर चौधरीलाई, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेतलाई र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिइएको छ । भौतिकको जिम्मेवारी पाएका चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन् । बस्नेत स्वतन्त्र सांसद र अधिकारी नेकपा एकीकृत समाजवादीका सांसद हुन् ।

यस्तै मुख्यमन्त्री महराले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी लिएका छन् । गत साता नै राजीनामा दिएका कृषि मन्त्री भण्डारीलाल अहिरको राजीनामा स्वीकृत नभएको कारण उनले सम्हालेको मन्त्रालयबारे कुनै निर्णय भएको छ ।

म्बिनीमा यसअघि नेकपा एमालेका लिला गिरी र नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुँदा १० मन्त्रालय थिए । तर माओवादी केन्द्रका महरा मुख्यमन्त्री भएपछि दलहरुलाई भाग पुर्‍याउन मन्त्रालय फुटाएर दुईवटा थपिएको हो ।

एमाले, माओवादी, नागरिक उन्मुक्ति, जसपा, एकीकृत समाजवादी गरी पाँच राजनीतिक दलका ४७ र स्वतन्त्र सांसद एकजना गरी ४८ प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा चैत २३ गते मुख्यमन्त्री बनेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page