शान्ति प्रक्रिया टुंग्याउने कामलाई बार्गेनिङको विषय नबनाऔँः देवेन्द्र पौडेल

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रिया टुंग्याउने कामलाई बार्गेनिङको विषय नबनाउन आग्रह गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयलाई बार्गेनिङको विषय नबनाउन दलहरूलाई आग्रह गरेका हुन् ।

उनले संसदभित्रका दलहरू सत्तापक्ष र प्रतिपक्षमा पालोफेरो हुने गरेका भन्दै संविधानले निर्दिष्ट गरेका कानूनहरु बनाउने कुरामा सबै एकै ठाउँमा हुनुपर्ने बताए । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगसँग सम्बन्धित विधेयकलाई छिटोभन्दा छिटो टुंग्याउनुपर्ने बताए ।

त्यस्तै, शिक्षा ऐन, निजामती कर्मचारी ऐन, वन, प्रहरी र भूमिसँग सम्बन्धित ऐनलाई पनि छिटोभन्दा छिटो ल्याउनुपर्ने उनले बताए ।

‘कानुन मन्त्रालयले ११७ वटा विधेयकको तयारी गरेको सुन्नमा आएको छ । योभन्दा पहिलाको सदनको कुरा हेर्दा निकै दुःख लाग्दोगरी एकाध बाहेक हामीले आपसमा कटाक्ष गर्ने बाहेक हामीले महत्त्वपूर्ण काम गर्न सकेनौं । यो सदन र यसपछि हुने सदनहरुले कानुन मन्त्रालयले तयार पारेका यसप्रकारका ऐनहरूलाई टुंगो लगाएर देशलाई एउटा निश्चित प्रणालीमा लिएर जानुपर्ने इतिहासको आवश्यकता बनिसकेको छ । टिआरसी सँग सम्बन्धित कानुन बनिसकेको छैन । हामी दलका प्रतिनिधिहरु यही सदनभित्र बस्दा कहिले कुन त कहिले कुन खण्डमा गएर बस्छौं । तर संविधानले निर्दिष्ट गरेका कतिपय कानुनहरु बनाउने प्रशंगमा हामी सबै एक ठाउँमा हुन आवश्यक छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी छानबिन आयोग पनि यत्तिकै अल्झिएर बसेको छ । हामी यसलाई छिटै टुंगो लगाउनुपर्ने छ । यसको निम्ति कसैले पनि बार्गेनिङको विषय नबनाऔं ।’

उनले संसदलाई कटाक्ष गर्ने थलो नबनाई जनतामा परेका समस्या समाधान गर्ने परिणाममुखी थलो बनाउनुपर्ने बताए । ‘अन्य थुप्रै कानुनहरू पनि हामीले गर्नुपर्नेछ । शिक्षा ऐन, निजामती ऐन ल्याउन सकेका छैनौं । वन ऐन, प्रहरी ऐन, भूमी ऐन जस्ता कानुनहरू हामीले ल्याउन नसक्दाखेरी तीन तहको सरकारको संरचना व्यवस्थित रुपमा जनताका बिचमा कार्य सम्पादनमा आगाडी बढेर नागरिकलाई विश्वस्त दिलाउन सकेका छैनन् । यी सरकारलाई प्रभावकारी बनाउन कानुनहरूको आवश्यकता छ । सदन कटाक्ष गर्ने थलो नबनोस् । सदन परिणाममुखी थलो बनोस् ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page