महालेखापरीक्षकमा तोयम राय सिफारिस

संवैधानिक परिषद्को बैठकले महालेखा परीक्षकमा सचिव तोयम रायलाई सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा हाल राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत सचिव रायलाई सिफारिस गर्ने निर्णय गरेको हो । उनलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको जानकारी दिइएको छ ।

महालेखा परीक्षक संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने व्यवस्था छ। गत जेठ ८ गते महालेखा परीक्षक टङ्कमणि शर्माको पदावधि सकिएपछि महालेखा परीक्षकको कार्यालय कार्यवाहकको भरमा चलिरहेको थियो । संवैधानिक परिषद्को सचिवालयले साउन २० गते महालेखा परीक्षक नियुक्त हुन इच्छुकहरूसँग आवेदन मागेको थियो। रायसहित १६ जनाले महालेखा परीक्षक बन्न दाबेदारी प्रस्तुत गरेका थिए।

आवेदन दिनेहरूमा पूर्वसचिव शिशिरकुमार ढुङ्गाना, राममाया कुँवर, रामशरण पुडासैनी, गोपीनाथ मैनाली, हरि बस्याल, रामप्रसाद थपलिया, शङ्कर खरेल ,बाबुराम गौतम थिए। महालेखा परीक्षक बन्न मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा लेखामा स्नातक उपाधि प्राप्त गरी वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा काम गरेको वा लेखा परीक्षण सम्बन्धी काममा कम्तीमा बीस वर्ष अनुभव प्राप्त गरेको व्यक्ति योग्य हुने प्रावधान छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page