५४ जना भ्रमण दलसहित राष्ट्रपति भण्डारी आज बंगलादेश जाँदै

तीनवटा सम्झौता हुने

राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गर्दैछिन् । बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी दुई दिने राजकीय भ्रमणका लागि त्यसतर्फ जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार पौने ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गर्नेछिन् । राष्ट्रपति भण्डारी स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने छिन् ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम छ ।सो कार्यक्रममा भण्डारी नेपाल-बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ ।

राजधानी ढाकामा तीन समझादारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् ।

आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले भ्रमणको सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र र कृषि तथा पशुपक्षीमा प्रयोग हुने विषादीका विषयमा छलफल हुने जानकारी दिए । त्योसँगै रेल, यातायात र बन्दरगाहालाई नेपालसँग जोड्ने विषयमा छलफल हुने उनले बताए । उनले भनेयो, “बङ्गलादेशले नेपालमा बिजुली खरिद गर्न गरिरहेको पहलबारे पनि छलफल हुने विश्वास छ ।”

सरकारले नेपाल र बङ्गलादेशबीच हुने एउटा समझदारीमा हस्ताक्षर गर्न नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईलाई अख्तियारी दिने निर्णय गरेको छ । मन्त्री गुरुङले पर्यटनसम्बन्धी समझदारीमा समेत हस्ताक्षर गरिने बताएका छन् ।

राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिका छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा भेषराज अधिकारी रहनेछन् ।

यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका कर्मचारीसमेत गरी ५४ जना भ्रमण दलमा छन् । भ्रमण दलमा कलाकार अशोकुमार राईको नेतृत्वमा सांस्कृतिक कलाकर्मीको १९ सदस्यीय टोली तथा तीन सञ्चारकर्मी रहने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार