इलाम– २ बाट प्रतिनिधिसभा सदस्यमा २७ हजार ७ सय ७२ मत सहित सुहाङ विजयी

इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। शनिबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाममा सुहाङ २७ हजार ७ सय ७२ मत सहित विजयी भएका हुन्।

सदरमुकाम इलाम बजारस्थित सिटी हलमा भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का दोस्रो भए। उनले २१ हजार ९ सय ४२ मत पाए ।

सुहाङभन्दा डम्बर ५ हजार ८ सय ३० मतले पछि परे ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १४ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् । उनी तेस्रोमा रहे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरी चौथो स्थानमा रहे ।

यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि शनिबार (१५ वैशाख) उपनिर्वाचन भएको हो ।

एमालेले यहाँबाट सुवासकै छोरा सुहाङलाई चुनावी मैदानमा पठाएको थियो । बुवाजस्तै स्वभाव मिल्ने सुहाङले बुवाले लगातार २५ वर्षसम्म जित्दै आएको क्षेत्रमा जित हासिल गर्दै संसद् भवनको ढोका खोलेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार