एनआरएनएलाई थप बलियो बनाउने र नेपालमा लगानी भित्राउने मेरो योजना छ:आचार्य [अन्तर्वार्ता]

" गैरआवासीय नेपालीलाई लगानी गर्ने उत्साहजनक बातावरण सरकारले अझै बनाउन सकेको छैन "

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दसौं महाधिवेशनबाट आलोपालो हुने गरी तीन जना अध्यक्ष चुनिएका छन् । गत चैतमा भएको महाधिवेशनबाट तीनजना अध्यक्षले पालैपालो कार्यभार सम्हाल्ने सहमति छ । पहिलो कार्यकालको नेतृत्व कुल आचार्यले गरिराखेका छन् । त्यसपछि रविना थापा र बद्री केसीले क्रमशः पालैपालो ६–६ महिना कार्यकाल सम्हाल्ने संघले जनाएको छ । दसौँ महाधिवेशनपछि संघको कार्यदिशा, भावी योजनाको विषयमा अहिले सर्वत्र चर्चा भइराखेको छ । यसैक्रममा विदेशमा रहेका नेपालीहरुको अवस्था, एनआरएनएको भूमिका, योजना, नेपालमा लगानी भित्राउनका लागि भएका पहल लगायतका बिषयमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यसँग टिभी अन्नपूर्णकर्मी शर्मिला सुवेदीले गरेको कुराकानीको सम्पादित अंश ः

गैरआवासीय नेपाली सङ्घको अध्यक्ष बनेपछिको दैनिकी कसरी चल्दैछ ?

म लामो समयदेखि गैरआवासीय नेपाली सङ्घमा काम गरेको अनुभवले पनि अध्यक्ष बनेपछि पनि केही फरक भएको छैन । हामीले पहिले गरिरहेका कामलाई नै निरन्तरता दिइरहेका छौँ । अब गैरआवासीय नेपालीका मुद्दा, लगानी, डलर अकाउन्टदेखि लिएर राष्ट्र बैङ्कले ल्याएको वैदेशिक रोजगार बचतपत्रका विषयमा छलफल र लबिङ गर्ने कामहरू भइरहेका छन् । मुख्यतः अहिले नेपालका कामहरूमा व्यस्त छौँ ।

हुनत तपाई स्वभाविक अध्यक्षको दाबेदार हुनुहुन्थ्यो, परिस्थिति यहाँको प्रतिकुल बनेपछि यो पटक फरक दृश्य देखियो, एउटै कार्यकालका लागि तिन जना अध्यक्ष बन्नुभएको छ । यसको कारण र आवस्यकता के थियो ?

गैरआवासीय नेपाली सङ्घको १८ बर्षको दौरानमा हामीले कोरोना महामारीका बेला जुममार्फत एउटा विधान पास गर्‍यौ । जुन विधानलाई पास गर्‍यौ त्यो विधानले अलिकति फरक तरिकाले प्रतिनिधि चयन गर्ने कुरा भयो । प्रतिनिधि चयन गर्ने कुरामा केही विवादहरू निस्के र समयमा अधिवेशन र चुनाव हुन सकेन । नसकेपछि हाम्रो समय छलफल र झै(झगडामै बित्यो । अन्तिम अवस्थामा यो सङ्घलाई जीवन्त राख्न एवं प्रभावकारी बनाउन हामीले झगडा गरेर मात्रै हुँदैन भनेर सहमतिको आधारमा यो कमिटी बनायौँ । पहिला भन्दा ठूलो कमिटी बनाएका छौं र सामूहिक रूपमा हामीले काम गर्ने प्रयास गरिरहेका छौँ । सामूहिक काम गरेर अझै प्रभावकारी हुन्छ भनेर हामीले गएका एकबर्ष गरेका झगडालाई टुङ्गाउने गरि र काम गर्नेगरि साथै गैर आवासीय नेपाली महासङ्घको अभियानलाई बचाउन तर्फ लागेका छौँ ।

अहिले कसरी काम गरिरहनुभएको छ ?

अहिले हामी तिनजना अध्यक्ष मिलेर अघि बढिरहेका छौँ । अहिले म कार्यकारी अध्यक्ष छु । हाम्रो डेढ बर्षको कार्यकाल हो । म पछि रबिना जी अध्यक्ष बन्नुहुन्छ र त्यसपछि बद्री जी बन्नुहुन्छ । पहिलाको जस्तो समस्या नआवोस भनेर हामीले यो सङ्घको अधिवेशन २०२३ को अक्टोबरमा गर्ने भनेर निर्णय नै गरिसकेका छौँ । समयमै चुनाव र अधिवेशन गर्नेगरि हामीले अहिले काम गरिरहेका छौँ ।

एनआरएनएमा राजनीतिक हस्तक्षेप भयो भन्ने आरोपहरू लाग्ने गरेका छन् नि ?

गैरआवासीय नेपाली सङ्घ र बाहिर बस्ने नेपालीका धेरै कुराहरू नेपाल सरकारसँग जोडिएका हुन्छन् । नेपाल सरकार राजनीतिक पार्टीले बनेको हुन्छ । यो सङ्घ ठुलो हुँदा राजनीतिक दलले माया गर्नु वा हामीसँग नजिक हुनु अस्वाभाविक होइन । चुनावको बेला सहयोग माग्दै गर्दा राजनीतिक पार्टी वा पार्टीका मान्छेसँग सहयोग माग्ने कुरामा अलि बढी भयो कि भन्ने हामीले पनि महसुस गरेका छौँ । तर यसलाई सकारात्मक लिनुपर्छ किनभने राजनीतिक पार्टीले पनि विदेशमा रहेका नेपालीका विषयमा यति धेरै चासो लिएर उहाँहरूलाई नेपाल लिएर आउन खोज्ने, उनीहरुले सिकेको ज्ञान सिप र पुँजीलाई लिएर आउन खोज्नेमा बढी चासो लियो भने र ल्याउन सफल भयो भने त्यो राजनीति अलिअलि घुसेको पनि राम्रै हो।

नेपालका कूटनीतिक नियोगहरूसँगको समन्वयमा कसरी काम गरिराख्नुभएको छ ?

कूटनीतिक नियोगहरूसँगको समन्वयमा भन्नुभयो तर हामीले विदेशमा काम गरेको अनुभवले गर्दा केही कुरा असजिलो भएकै छन् । तर हामी नेपालमै जन्म्यौ, नेपालमै हुर्कियौँ यो मानेमा यहाँ केही असहजता भएपनि सहनशील भएर काम गर्नुपर्छ भनेर लागेका छौँ । कूटनीतिक हिसाबकिताबको कुरा गर्दा संसार भरि छरिएका नेपाली जो विदेशमा हुनुहुन्छ उहाँहरू सच्चा राजदूतको रूपमा र बाहिरको सम्बन्धलाई अझ प्रगाढ बनाउन कूटनीतिक रूपमा सही रहन्छन् भन्ने हाम्रो विश्वास छ । त्यसलाई हामीले सही सदुपयोग गर्न सकेनौ कि भन्ने चिन्ता पनि हामीमा छ । नेपालीहरू बाहिर पनि धेरै सक्षम भइरहेका छन् । उनीहरुले सिकेको सिपलाई हामीले कूटनीतिक रूपमा नेपालमा ल्याएर प्रयोग गर्न सक्यौँ भने हामी कूटनीतिक रूपमा सफल हुनेछौँ ।

लगानी, व्यापार र पर्यटन प्रवर्द्धनकै कुरा गर्दा गैरआवासीय नेपाली सङ्घ त्यति सफल देखिँदैनन्, किन ?

एनआरएनए लगानीको कुरामा सफल छ । लगानीका कुरा गर्ने हो भने अहिले सानादेखि ठुलासम्म आयोजनामा एनआरएनहरुको सहभागिता उच्च छ । अहिलेपनि कुन क्षेत्रमा लगानी गर्ने भनेर हामीले हेरिरहेका छौँ । हाइड्रोपावरदेखि होटेलसम्म एनआरएनको लगानी छ । बैंकिग क्षेत्रमा पनि लगानी कायमै छ । यसलाई सकारात्मक रूपमा प्रोत्साहन गर्नको लागि म अनुरोध गर्छु । अहिले नेपाल आउने क्रम र काम गर्ने क्रम बढेको छ । पहिले कमाएको रकम विदेश लग्ने वातावरण थिएन तर अब त्यो वातावरण पनि बनेको छ । त्यसैले गर्दा अब अझै बढी लगानी आउँछ ।

तपाईँहरूले नेपालमा डलर खाता ल्याउनको लागि अलि बढी नै लबिङ गर्नुभयो, यो कत्तिको प्रभावकारी देखिएको छ ?

केही समस्याहरू आएका छन् तर बिस्तारै बिस्तारै धेरै नै प्रभावकारी हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ । म युके अध्यक्ष हुँदा हामीले एनआरएन इन्भेस्टमेन्ट कम्पनी सुरु गर्‍यौ र त्यसमा पैसा उठाउने क्रममा धेरै पैसा बैङ्कमा निर्ब्याजी बसेको पाइयो । त्यसपछि यो पैसा नेपालमा लान पाउने, त्यहाँ राख्ने र ब्याज कमाउने र चाहेको बेला फिर्ता पठाउन सकिने भयो भने नेपालको आर्थिक चलायमानमा धेरै सहयोग गर्थ्यौ भनेर त्यति बेलादेखि नै मैले कुरा उठाउँदै आएको हुँ । यसको लागि अर्थमन्त्री , अर्थसचिव, राष्ट्र बैङ्कले गरेको सहयोगको लागि धन्यवाद पनि दिन चाहन्छु । तीनपटकसम्म उहाँहरुको सहयोगमा नियमावली परिवर्तन गरेर दश हजार डलर थियो, त्यसलाई परिवर्तन गरेर ५ हजार र फेरी एकहजार बनाइयो । साथै खाता खोल्दा सबै सरलीकरण गरिएको छ । अनलाइनमा खाता खोल्न पाइनेलगायतका सरलीकरण गरिएको छ । अहिले अनलाइन ट्रान्सफर गर्दा केही समस्या छ त्यसमा पनि चाँडै नै समाधान हुने विश्वास छ । यदी समस्याहरू समाधान गर्न सक्यौ भने यो डलर अकाउन्ट धेरै प्रभावकारी बन्छ । त्यसको लागि बैंकहरुलाई सहयोग गरिदिनुहुन मेरो अनुरोध पनि छ ।

नेपालमा विदेशी लगानी भित्राउन तपाईँहरूका केके योजना छन् ?

नेपालमा विदेशी लगानी भित्त्राउन हामीले धेरै काम गरिरहेका छौँ । नेपाल सरकारसँगको सहकार्यमा सानो र ठूलो लगानी भित्राउनको लागि कम्पनी सुरु भइसकेको छ । सरकारले पनि ५ प्रतिशतको ग्यारेन्टी गरिसकेको छ । तर हाम्रो एउटा समस्या छ । गैरआवासीय नेपालीले गर्ने लगानीलाई विदेशी सरहको लगानी मानिएको छ । हाम्रो अनुरोध के छ भने अहिले त संविधानले पनि सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार दिने भएको हुनाले नेपालीहरू जो विदेशमा छन् ती नेपालीलाई नेपालमा बस्ने नेपालीसरह लगानी गर्ने अवसर दिनुपर्छ। तर अहिलेसम्मको व्यवस्था के छ भने गैरावासीय नेपालीको हकमा पनि विदेशीसरह लगानी गर्नुपर्ने अवस्था छ । हामीले सुरु गरेको १० अर्बको इन्भेष्टमेन्ट कम्पनीमा ५० करोड जम्मा भएको छ । यदी विदेशमा रहेका नेपालीलाई नेपालीसरह लगानी गर्ने अवसर दिए धेरै रकम सङ्कलन हुनेथ्यो । यसमा हामीले अहिले पनि लविंग गरिरहेका छौँ । त्यसैले गर्दा अहिले त्यो कम्पनीको काम रोकिएको छ । नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई नेपालीसरह लगानी गर्ने व्यवस्था गरिदिए राम्रो लगानी आउँछ । नेपालमा अहिले लगानीको अवसर छ । अहिले गरेको लगानी खेर जाँदैन त्यसैले नेपालमा लगानी गर्न विश्वभर छरिएका नेपालीलाई अपिल गर्न चाहन्छु ।

यसअघि यहाँले नेपालको रकम अवैध रूपमा विदेश पुगेकाले त्यसलाई रोक्छु भन्नुभएको थियो । सम्पत्ति विदेशमा कसरी पुगिरहेको छ ?

अहिले नेपालबाट विदेशमा रकम ट्रान्सफर गर्ने व्यवस्था छैन । तर अपसोचको कुरा विदेशमा स्थायी रूपमा बस्ने धेरै नेपालीहरूले पैसा लगेका छन् । नेपालको घर जग्गा बेचेर पैसा लगेका छन् तर देशबाट पैसा ट्रान्सफर गर्न नमिल्ने भएकाले त्यसलाई म वैद्य अवैध केही भन्दिन । त्यसको लागि पोलिसि बन्नुपर्छ । र त्यसबाहेक अर्को विकल्प गैरआवसीय नागरिकताको व्यवस्था भए नेपाली पुँजी बाहिर जानबाट रोकिन्छ । संसारभर रहेका नेपालीलाई तपाईँको नेपालको सम्पत्ति सुरक्षित रहन्छ भन्ने बेला आएको छ । जसले गर्दा नेपालको पुजिँ बाहिर जानबाट रोकिन्छ ।

मध्यपूर्व र खाडी देशहरूका नेपालीहरूको पक्षमा एनआरएनएको भूमिका प्रभावकारी भएन भन्ने छ यसमा तपाईँहरूले कसरी काम गरिरहनु भएको छ ?

खाडी देशहरूमा समस्या छन् । केही वर्ष अघि र अहिलेको अवस्था धेरै फरक छ । पहिले एनआरएनए र दूतावासको सम्बन्ध राम्रो थिएन । अहिले एकदमै प्रगाढ सम्बन्ध छ । कुनै समस्या आयो भने दूतावासले एनआरएनलाई पठाइदिने गरेको छ । कोही बिरामी भयो, जेल पर्‍यो अथवा उद्धार गर्न पर्‍यो भने गैराआवसीय नेपाली सङ्घलाई दूतावासले पनि रेकोमेन्ड गर्ने अवस्था बनेको छ । अहिले खाडी देशहरू बस्ने नेपालीहरू ब्यापार व्यवसायमा लागेर सक्षम पनि भएका छन् । त्यस्तो साथीहरूले नेतृत्व लिइराख्नुभएको छ । एनआरएनले खाडीमा रहेकाहरूलाई परेको बेलामा सहयोग गर्न तम्तयार छ । तर त्यहाँ नीतिगत रूपमा समस्या छन् । जस्तै दोहोरो श्रमस्वकृति, दलालहरूले प्रलोभनमा पारेर विदेश पुर्‍याउने र दुख पाउने खालका समस्या पनि छन् । यि समस्यालाई समाधान गर्न हामी नेपाल सरकारसँग निरन्तर छलफलमा छौँ ।

विदेशमा बस्ने नेपालीहरूलाई गैरआवसीय नागरिकता दिनुपर्छ भन्ने कुरा कहाँ पुग्यो ?

संविधानले गैरआवसीय नागरिकताको व्यवस्था गरेको चार वर्ष भयो । नागरिकता विधेयक पास नभएकाले हाम्रो पनि रोकिएको छ । सकेसम्म नेपालीलाई सेकेन्ड क्लास सिटिजन नबनाउन र नेपाली नै रहन दिन हाम्रो माग छ । संविधानले गैरआवसीय नेपाली नागरिकता भनेर जुन व्यवस्था गरेको छ त्यसलाई तोडमोड नगरी कानुन, ऐनमा राम्रोसँग व्यवस्था गरिदिनुपर्छ । त्यसले नेपाललाई फाइदै फाइदा हुन्छ । यसले देशको समृद्धिको लागि ठुलो मद्दत गर्छ । विश्वमा रहेका ८० लाख नेपालीका लागि यो चासोको विषय बनेको छ । नेपाल सरकारले छिटो गैरआवसीय नागरिकताको व्यवस्था गर्नेमा हामी विश्वस्त छौँ ।

विदेशमा बस्ने नेपालीहरूलाई मताधिकार दिनुपर्छ भन्नेबारे तपाईँको धारणा के हो ?

विदेशमा बस्ने नेपालीहरूलाई मताधिकार दिनुपर्छ भनेर हामी लागि परेका छौँ । त्यसको लागि अहिले हामी निरन्तर छलफलमा छौँ । हामीले नेपाली पासपोर्ट बोकेका नेपालीलाई दूतावासमा मतदाता नामावली सङ्कलन गर्न र त्यहाँ नै मतदानको व्यवस्था गर्न सकिन्छ कि भनेर लागेका छौँ । हामीलाई विश्वास छ नेपाल सरकारले नेपालीलाई मताधिकारबाट वञ्चित नगरी यो अवसर दिनुहुन्छ । एनआरएनले पनि यसमा काम गरिरहेको छ र सरकार पनि सकारात्मक छ ।

नेपाल राष्ट्र बैङ्कले बर्सेनि वैदेशिक रोजगार बचत पत्र ल्याउँछ तर त्यसमा तपाईँहरूको उत्साहजनक सहभागिता देखिँदैन । भर्खरै पनि परिस्थिति त्यस्तै बन्यो किन ?

यस बिषयमा मैले हाम्रो गभर्नरसँग पनि कुरा राखेको थिए । वैदेशिक रोजगार बचत पत्रमा लगानी गर्न ल्याएको पैसालाई लैजान मिल्दैन । त्यस कारण अलिकति अप्ठ्यारो छ । डलर खाताबाट लैजान मिल्छ तर त्यसमा पनि समस्या छ । त्यसैले रिपार्टटेसनको व्यवस्था गरिदिए सयौँ गुणा बढी सहभागिता हुनेगरि पैसा लिएर आउन तयार छौँ । तर पनि हामीले यसमा अहिले एकदमै लबिङ गरिरहेका छौँ । मैले संसारभरिका नेपालीहरूलाई पनि वैदेशिक रोजगार बचत पत्रमा लगानी गर्न आग्रह गर्छु । यो सुरक्षित लगानी हो ।

अन्त्यमा, तपाई एक्लै त हुनुहुन्न यस पटक नेतृत्वमा त्यस कारण सोचेजस्तो काम गर्न सहज नहोला फेरि पनि एउटा अध्यक्ष आफै भएको नाताले यो कार्यकालमा यहाँहरूले ठोस के के काम गर्ने योजना छन् ?

सर्वप्रथम त संसारभरका नेपालीहरूलाई जोड्ने, उहाँहरूले कमाएको ज्ञान,सिप र पुँजी नेपालमा ल्याउने, विदेशमा रहेका नेपालीका समस्या समाधान गर्ने मेरो मुख्य योजना छन् । त्यसबाहेक नेपालमा ठुलो मात्रामा लगानी भित्राउन र एनआरएनलाई थप बलियो र सशक्त बनाउनेमा मेरो जोड छ । हामीले यो कुरा पहल गरिरहेका छौँ र चाँडै नै केही निष्कर्ष निस्कनेमा विश्वस्त छु ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार