आज यी प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएक छ ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा राति पनि हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार