चारजना नेपाली शान्ति सैनिकमाथि नाबालिग बलात्कारको आरोप

एक जना बर्खास्त, तीन जना निर्दोष भएको सेनाको दाबी

काठमाडौं । अघिल्लो साता सार्वजनिक एक अमेरिकी प्रतिवेदनमा चार नेपाली शान्ति सैनिकलाई नाबालिग बलात्कारको आरोप लगाइएको उल्लेख भएपछि नेपाली सेनाले अनुसन्धान गरेर तीमध्ये दोषी ठहर भएका एकजनालाई बर्खास्त गरेको र बाँकी तीन जना निर्दोष पाइएको बीबीसीलाई बताएको छ।

मानवअधिकारको विश्वव्यापी अवस्थासम्बन्धी अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घलाई उद्धृत गर्दै कङ्गो गएका नेपाली शान्ति सैनिकमाथि गत वर्ष त्यस्तो आरोप लगाइएको जनाइएको छ।

उक्त प्रतिवेदनमा भनिएको छ, ‘प्रत्येक आरोपमा बालबालिकामाथि बलात्कार गरिएको विषय समावेश छ। सेप्टेम्बर महिनासम्म सरकारले ती आरोपबारे अनुसन्धान गरिरहेको थियो।’

बीबीसी न्यूज नेपालीलाई प्रतिक्रिया दिँदै नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले ती आरोपमाथि अनुसन्धान पूरा भएको र त्यसको जानकारी राष्ट्रसङ्घको न्यूयोर्कस्थित मिसनलाई पठाइएको बताए।

एक जना सैनिक बर्खास्त
राष्ट्रसङ्घको कन्डक्ट इन यूएन फिल्ड मिसन अर्थात् राष्ट्रसङ्घीय मिसनमा अवलम्बन गरिएको आचारबारे जानकारी दिने वेबसाइटका अनुसार अघिल्लो वर्षका चार बाल बलात्कारका आरोपमध्ये तीन वटा सन् २०१८र२०१९ को घटनासँग सम्बन्धित रहेका छन्।

सन् २०२१ मा लगाइएको आरोपपछि शान्ति सैनिकको भत्ता रोकिएको उक्त वेबसाइटमा रहेको विवरणमा जनाइएको छ।नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले सबै आरोपहरूका सम्बन्धमा अनुसन्धान सम्पन्न भएको र त्यसको निष्कर्ष राष्ट्रसङ्घ मुख्यालयमा पठाइएको जानकारी दिए।

तीन जना सैनिक निर्दोष
सन् २०१८/२०१९ मा उजुरी दिने महिलामध्ये एकजनाले आफ्नो आरोप फिर्ता लिएको पनि नेपाली सेनाले जनाएको छ।

प्रवक्ता सिलवाल भन्छन्, ‘कङ्गोकी बालिकासँग सम्बन्धित दोस्रो आरोप मिसनको कन्डक्ट एन्ड डिसिप्लिन (आचार र अनुशासन) सम्बन्धी युनिटमा विभिन्न मितिमा तीन जनाले दायर गरेका थिए। त्यसमा एक जनाले रिपोर्ट गल्ती हो भन्दै आफ्नो आरोप फिर्ता लिएको बताइन्।’

‘अरू दुई जनाले उजुरी दर्ता गराए। यो आरोपको बारेमा नेपाली सेनाले अनुसन्धान सञ्चालन गर्‍यो। विस्तृत अनुसन्धानपछि आरोप प्रमाणित हुन सकेन। कुनै प्रमाण नभएकाले कोही दोषी ठहर गरिएन।’

‘सो विस्तृत अनुसन्धान प्रतिवेदन राष्ट्रसङ्घको मुख्यालयमा पठाइसकिएको अवस्था छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार