कतारमा बसोबासको नियम उल्लङ्घन गरेका विदेशी नागरिकलाई अब सहज

कतारमा बसोबासको नियमलाई उल्लङ्घन गरेका विदेशी नागरिकले आफ्नो कानुनी अवस्था सच्चाउने समयावधि कतार सरकारले बढाएको छ ।

विभिन्न कारणले कतारमा बसोबासको नियम उल्लङ्घन गरेका तर आफ्नो कानुनी अवस्था सच्याई कतारमै बस्न चाहने वा स्वदेश फर्किन चाहनेहरूले आउँदो वैशाख १७ अर्थात् अप्रिल ३० सम्मको समय पाउने भएका हुन् ।

कतारमा बसोबासको नियम, काम गर्ने भिसाको नियम, घरेलु श्रमिक र पारिवारिक बसोबासको नियम उल्लङ्घन गरेकाहरूले यो अवसरको फाइदा लिन सक्नेछन् ।

रोजगार भिसामा कतार गएर कतारी आईडी प्राप्त नगरेका वा नवीकरण नभएकाहरूले आफ्नो कतार बसाइँलाई वैधानिक बनाउन चाहेमा कुनै रोजगारदाताबाट ‘जब अफर लेटर’सहित तोकिएको केन्द्रमा गएमा आफ्नो बसाइँलाई वैधानिक बनाउन सक्नेछन् ।

यसरी आफ्नो कानुनी अवस्था सच्याउँदा लाग्ने दण्ड र जरिबाना पनि छुट् हुनेछ ।

स्वदेश फर्किन चाहनेहरूले भने सर्च एण्ड फलोअप डिपार्टमेण्टमा रहेको काउन्टरमा स्वदेश फर्किने टिकटको बुकिङ लिएर गएमा दण्ड जरिवाना छुट हुनेछ । यसरी आवेदन दिनेहरूले दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म निवेदन दिन सक्छन् ।

सन् २०२१ को डिसेम्बर महिनासम्मका लागि तोकिएको समय बढाएर कतारले मार्च ३१ सम्मका लागि तोकेको थियो । तर अहिले पुनः समय थप गर्दै अप्रिल ३० सम्म पुर्‍याएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार