पाकिस्तानविरुद्ध न्युजिल्यान्ड चार रनले विजयी 

न्युजिल्यान्डविरुद्धको चौथो ट्वान्टी–२० खेलमा घरेलु टिम पाकिस्तान चार रनको झिनो अन्तरले पराजित भएको छ । बिहीबार लाहोरस्थित गद्दाफी रंगशालामा भएको खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७४ रनमात्र बनाएको हो ।

पाकिस्तानका फखर जमानले ६१ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ४५ बलमा चार चौका र तीन छक्का प्रहार गरे । इफ्तिखर अहमेदले २३, इमाद वसिमले २२, सैम अयुबले २० र उस्मान खानखले १६ रन थपे । पाकिस्तानका कप्तान बाबर आजम पाँच रनमै पभेलियन फर्किएका थिए ।

न्युजिल्यान्डका विलियम ओरोर्केले तीन विकेट लिए । बेन सेर्सले दुई विकेट लिँदा माइकल ब्रासवेल र जेम्स निसमले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको थियो । न्युजिल्यान्डका ओपनर टिम रोबिन्सनले ५१ रन बनाएका थिए । डियन फोक्सफ्टले ३४, टिम ब्लुन्डेलले २८, कप्तान माइकल ब्रासवेलले २७ र जेम्स निसमले ११ रन थपे ।

पाकिस्तानका अब्बास अफ्रिदीले तीन विकेट लिए । मोहम्मद आमिर, जमन खान, उसामा मिर र इफ्तिखर अहमेदले समान एक विकेट लिए ।

पाँच खेलको ट्वान्टी–२० शृंखलामा न्युजिल्यान्डले २–१ को अग्रता बनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार